काठमाडौं । सोमबारदेखि काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो ।
यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने भएको छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ ।
कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन ।
आइतबारबसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।
सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ । पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ ।
खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ । सीसीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।
Comment