काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बेलायतसंग व्यापार सहजीकरण तथा निर्यात प्रर्वद्धनका लागि भूमिका निभाउन नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसंग नेपालको कुटनीतिक सम्वन्ध दुई सय वर्षभन्दा वढी भएपनि आर्थिक र व्यवसायिक सम्वन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कुटनीतिक पहल गरीदिन चेम्बरले आग्रह गरेको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदुत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यात योग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । बेलायतसंग वार्षिक दुई अर्व हाराहारीमा मात्रै व्यापार भईरहेको सन्र्दभमा अध्यक्ष मल्लले जडीवुटी, खानिजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसंग सहकार्य गर्न सकिने उल्लेख गरे । यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लले बताए । नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्लो १० वर्षदेखि व्यवसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदुत आचार्यको ध्यानाकर्षण गराए ।
राष्ट्रवैंकको तथ्याङक अनुसार नेपालले हस्तकलाका सामान, पस्मिना, गार्मेन्ट्स, उलन लगायतका गरि गत वर्ष २ अर्व ३ करोड रुपैयाको व्यापार गरेको थियो । बेलायतबाट भने सवारी साधन, केमिकल्स, मदिरा लगायत २ अर्व २६ करोड रुपैयाँको आयत गरेको छ । अध्यक्ष मल्लले पूर्वाधार, जलश्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई आग्रह गरे । सुन चाँदीको तयारी गरगहना, जिन्सको पेन्ट लगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।
नवनियुक्त राजदुत आचार्यसंग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसंग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली राजदुतावासमा वर्षमा कम्तिमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदुत आचार्यसंग आग्रह गरे ।
जवाफमा राजदुत आचार्यले ब्रेक्जिटपछि बेलायतसंग छुट्टै व्यापारिक सम्वन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताएका छन् । बेलायतसंगको सवैभन्दा पुरानो कुटनीतिक सम्वन्धलाई उच्चस्तरीय आर्थिक सम्वन्धमा परिणात गर्नका लागि आफुले सक्दो पहल गर्ने आचार्यको भनाई छ ।
उनले आफ्नो कार्यकालको शुरुमै दुई देशका व्यापारी बीचको मिलन गराउने तथा व्यवसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए । बेलायतले पछिल्लो समय जलवायु परिवर्तन विरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको उनले बताए । नेपाल विकासशील राष्ट्रमा गएपनि भुपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफुले पहल गर्ने आचार्यको भनाई छ ।
“
Comment