कांग्रेस महाधिवेशन : चुनाव खर्चिलो बन्दा न्यून आय भएका नेता ओझेलमा पर्ने स्थिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस महाधिवेशन : चुनाव खर्चिलो बन्दा न्यून आय भएका नेता ओझेलमा पर्ने स्थिति



दाङ । देशका ठूला राजनीतिक दलहरूमा अहिले महाधिवेशनको चटारो छ । एमालेले वडा, पालिका अधिवेशन गरिसकेको छ । कांग्रेसले पनि धमाधम अधिवेशन गर्दैछ । राप्रपालगायतका दलहरूले पनि जिल्ला स्तरसम्मको अधिवेशन सम्पन्न गरेका छन् । 

वडा तहदेखि निर्वाचनबाट नेतृत्व छनोट गरिरहेको कांग्रेस अहिले प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशनमा लागेको छ । तर कसले बढी खर्च गर्ने भन्ने होडबाजी चलेको छ ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत ३ मंसिरमा प्रदेश सभा निर्वाचन क्षेत्र र ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा १० मंसिरमा जिल्ला अधिवेशनको तयारी गरेको छ । वडा र गाउँ-नगरको अधिवेशन गरिसकेको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लामा अधिवेशन गर्न लागेको हो । अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी गतिविधि तीव्र बनेको छ । प्रदेश सभा र प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीस्वरूप नेताहरू गाउँ तथा सहरमा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

एउटै पदका लागि धेरै नेताहरू आकांक्षी हुँदा चुनावी प्रतिस्पर्धा हुने निश्चित छ । चुनावबाटै नेतृृत्व छनाेटको तयारीमा जुटेको कांग्रेस नेताहरू चुनावी मत परिणाम आफ्नो पक्षमा पार्न घरदैलो अभियानमा लागेका छन् । घरदैलो अभियानमा लागेका नेताहरू कतिपयले धेरै रकम खर्च गरेर तडकभडक नै गरेका छन् । कतिपयले भने सामान्य खर्चमै प्रचार प्रसार गरिरहेका छन् ।

दाङको प्रदेश सभा ३ ‘ख’ मा सभापति पदका लागि उम्मेदवारी दिएका टीकाराम घर्तीले सामान्य खर्चमा प्रचार प्रसार गरिरहेको दाबी गरेका छन् । चुनाव खर्चिलो बन्दै गएको अवस्थामा खर्च व्यवस्थापन गर्न अटोमार्फत प्रचारप्रसारमा जुटेको उनले बताए । ‘खर्च जतिसक्यो कम गर्ने कोसिस छ’, उनले भने, ‘चुनाव खर्चिलो बन्दै जाँदा न्यून आय भएका नेता ओझेलमा पर्ने स्थिति छ ।’

तर अधिकांश नेताहरू प्रदेश तथा प्रतिनिधिसभाको नयाँ नेतृत्व हात पार्न तडकभडक देखाइरहेका छन् । यसअघि वडा, गाउँ तथा नगरको अधिवेशनमा लाखौँ रकम खर्चिएका कांग्रेस नेताहरू यसपटक प्रदेश र प्रतिनिधिसभाको अधिवेशनमा लाखौँ खर्च गर्न तयार देखिएका छन् । चुनाव खर्चिलो बन्दै जाँदा खर्च व्यवस्थापन गर्न निकै समस्या पर्ने गरेको प्रदेश सभा ३ ‘क’को समापतिका उम्मेदवार बलिराम खत्रीले बताए । ‘चुनावमा हुने खर्च जतिसक्यो कम गर्नुपर्छ’, उनले भने, ‘खर्चिलो र भड्किलो बन्दै जाँदा राम्राभन्दा पनि आर्थिक रूपमा सक्षम हुने उम्मेदवार विजयी हुने निश्चित छ ।’

पार्टीभित्रकै नेतृत्व पाउन रकमको होडबाजी चल्दा आर्थिक रूपमा कमजोर तर बौद्धिक जमात ओझेलमा पर्ने अवस्था आएको कांग्रेसकै नेताहरू बताउँछन् । प्रतिनिधिसभा ३ नम्बर क्षेत्रमा सचिव पदका उम्मेदवार शोभाकर सापकोटाले पार्टीभित्रै नेतृत्वका लागि चुनावको नाममा लाखौँ रकम खर्चनु पार्टीका लागि घातक रहेको बताए । ‘आर्थिक लगानी देखाउने प्रचलनले पार्टीलाई बलियोभन्दा पनि झन् कमजोर बनाउँछ’, उनले भने, ‘खर्चको तडकभडकले बौद्धिक व्यक्ति ओझेलमा पर्छ ।’

उनले नेतृत्वमा आउँदा गर्ने लगानी पार्टीकै कार्यालयका लागि भवन निर्माणमा खर्च गर्नसके सहज हुने बताए । ‘नेपाली कांग्रेस दाङमा जिल्लाको भवनमात्रै छ, अरुको भवन नहुँदा भेला, बैठक गर्न समस्या छ’, उनले भने, ‘भवन निर्माण, कार्यालय व्यवस्थापनमा आर्थिक लगानी गर्नतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।’

पार्टीभित्र केही वर्ग लाखौँ खर्चेर भए पनि नेतृत्व हात पार्ने भन्ने उद्देश्यमा लागेकाले पनि पछिल्लो समयका अधिवेशन झन् खर्चिलो बनेको जिल्ला सभापति कृतिबहादुर खड्काले बताए । ‘अबको नयाँ नेतृत्वमा आउनका लागि खर्चलाई कम गर्नतर्फ सबैको ध्यान पुग्न आवश्यक छ’, उनले भने, ‘आर्थिकलाई परिचालन गरेर नेतृत्वमा आउँदा अरु आर्थिक रूपमा कमजोर हुने जमात ओझेलमा पर्छ ।’ 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १३:०९