भुक्तानी नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भुक्तानी नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी



पाँचथर । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै पेटी ठेकेदारले पाँचथरको फालेलुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरूले गरेको कामको रकम निकासा नपाएको भन्दै फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको गत आर्थिक वर्ष २०७७/०७८ को ठेक्काको पेटी ठेक्का लिएका स्थानीय ठेकेदारहरूले आज दिउँसो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले आफूहरूले पाउनुपर्ने ४२ लाख रुपैयाँ भुक्तानी नपाएको भन्दै आज दिउँसो ४ः३० बजे कार्यालयमा तालाबन्दी गरेका हुन् ।

फालेलुङ गाउँपालिकाको कार्यालयले गत आवमा प्रशासकीय भवनको भुइँ तला निर्माणका लागि ९४ लाख रुपैयाँमा कमल कन्स्ट्रक्सन फिदिमलाई ठेक्का लगाएको थियो । तर, उक्त निर्माण कम्पनीले भवन निर्माणको काम अनिष गुरागाईं, केशव गुरागाईं, सुरेश थोक्लिहाङलगायत स्थानीयलाई पेटी ठेक्का दिएको थियो । पेटी ठेक्का पाएकाहरूले कामको भुक्तानी नपाएको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गाउँपालिकाले भने तत्कालै रकम निकासा दिन नसकिने स्पष्ट भइसकेको अवस्थामा पेटी ठेकेदारहरूले तालाबन्दी गरेको जनाएको छ । फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानका अनुसार निर्माणकर्ताहरूसँग गत ११ फागुनमा निर्माण सम्झौता भई २४ असारसम्ममा पहिलो तलाको ढलान सम्पन्न गर्ने कार्यादेश दिइएको थियो । तर, निर्माणकर्ताहरूले गत वैशाखदेखि मात्र काम थालेका थिए ।

उक्त ठेक्कामा निर्धारित मितिमा जति काम भए पनि म्याद थप नगर्ने भनी पहिल्यै स्पष्ट पारिएको चौहानको भनाइ छ । २४ असारसम्ममा ढलानसमेत सम्पन्न गर्नुपर्ने भए पनि त्यसको तयारीसमेत नदेखिएकाले काम रोक्न र भएको कामको मूल्यांकन गरी निकासा लैजान आफूले भनेको तर निर्माणकर्ताहरूले नमानेको चौहानले बताए । निर्माणकर्ताहरूले निरन्तर काम गरेपछि गत ३० असारमा गाउँ कार्यपालिकाको बैठक बसी १० साउनसम्म निर्माण अवधि थप्ने निर्णय गरेको थियो ।

‘१० असारमा आएको चालू आवको बजेटमा नभएको कामका लागि पैसा राख्न सकिएन’, चौहानले भने, ‘१० साउनसम्म म्याद थप गर्दा बजेटभन्दा बाहिरको क्षेत्रमा रकम दिनुपर्ने भएकाले थप कामका लागि बजेटको प्रबन्ध नहुने हुँदा आउने गाउँसभाले भुक्तानी गर्ने भनी स्पष्ट पारिएको थियो ।’

उक्त समयमा पछि रकम दिए पनि हुन्छ भनेका पेटी ठेकेदारहरूले बीचमा रकम माग गरेपछि हिजो बसेको गाउँ कार्यपालिकाको बैठकले १० लाख रुपैयाँसम्म रकम भुक्तानी दिने र सो भुक्तानीसमेत हिउँदे अधिवेशनबाट स्वीकृत गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौहानले बताए ।

उक्त विषयमा मुख्य ठेकेदारले भने हालसम्म कुनै कुरा वा गुनासो नराखेको चौहानको भनाइ छ । आज अपराह्न तालाबन्दी भएको र यो विषय चाँडै हल गर्न आफूहरू लागिपर्ने गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार २०:५१