असोज २१बाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

असोज २१बाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय



काठमाडौं । कोरोनाका कारण ठप्प रहेको फिल्म प्रदर्शन दशैंबाट सुचारु हुने भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले आइतबार विज्ञप्ति जारी गर्दै २१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।

संघले अबको तीन महिनाभित्र प्रदर्शन गर्ने फिल्मको नाम र प्रदर्शन मिति २० असोजसम्म सार्वजनिक गर्न पनि निर्माताहरूलाई सुझाएको छ ।

चलचित्र प्रदर्शन व्यावसायिक समितिका संयोजक अशोक शर्माको हस्ताक्षरयुक्त विज्ञप्तिमा १८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गर्दा अबउप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्काे फिल्म प्रदर्शन गर्न पाइने प्रावधान जारी गरेको छ ।

अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने जनाएको छ । संघले नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशमा सोही समयमा फिल्म प्रदर्शन नगर्नेसमेत बताएको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १४:४१