कांग्रेस महाधिवेशन : नेतृत्वमा आउन महिलाले आकांक्षासमेत देखाउन सकेनन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस महाधिवेशन : नेतृत्वमा आउन महिलाले आकांक्षासमेत देखाउन सकेनन्




तनहुँ । ८५ वटै वडाको अधिवेशन सकाएको तनहुँ कांग्रेसलाई गाउँ तथा नगर अधिवेशनको चटारोले छोएको छ । निर्धारित मिति फेरबदल नभए नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत तनहुँका ६ गाउँपालिका र चार नगरपालिकाको अधिवेशन ९ असोजमा हुनेछ ।

अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा पुग्न उम्मेदवारी घोषणा गर्ने र आकंक्षा व्यक्त गर्नेहरु बढेका छन् । उम्मेदवारी घोषणा गर्ने र आकांक्षा व्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल बनेको छ । जिल्ला सदरमुकाम रहेको व्यास नगरपालिकामा त पत्रकार सम्मलेन गर्दै उम्मेदवारी घोषणा कार्यक्रम पनि धमाधम भइरहेका छन् ।

गाउँ ÷नगरको नेतृत्व सम्हालन उम्मेदवारी दिने र आकंक्षा व्यक्त गर्नेको भीडमा महिलाको संख्या नगन्य छ । महिलालाई रोलक्रम र कोटामा मात्र सीमित पारियो भन्ने आरोप लाग्दै आएका बेला महिला स्वयं नेतृत्व तहमा पुग्नलाई आकांक्षासमेत व्यक्त गर्न नसकेको देखिन्छ ।

व्यास नगरपालिकामा सभापति पदमा नौ जनाले उम्मेदवारी घोषणा गर्दा महिलाको संख्या भने शून्य छ । उपसभापति, सचिव, सहसचिव पदमा पनि महिलाले अहिलेसम्म उम्मेदवारी घोषणा गरेको वा दिएको देखिँदैन । उनीहरूले खुलेर आकांक्षा व्यक्तसमेत गरेका छैनन् ।

शुक्लागण्डकी नगरपालिकामा उपसभापति पदमा सपना पराजुलीले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत उम्मेदवारी घोषणा गरेकी छन् । १४औँ महाधिवेशन अन्तर्गत गाउँ÷ नगर अधिवेशनमा कार्यकारी पदमा उम्मेदवारी घोषणा गर्न हिम्मत जुटाएकी छन् पराजुलीले ।

समावेशीताका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताइन् । ‘हामीलाई सधैँ ठाउँ दिइएन मात्र भन्ने गर्छौँ । खोजेर लिन जान्दैनौँ । चाहियो नभनेपछि ला भन्दै कसले दिन्छ ? महिलालाई पद दिन्छन् कि दिँदैनन्, त्यसैको परीक्षणका लागि पनि मेरो उम्मेदवारी हो’, उनले भनिन् । आकांक्षी नभएकै कारण महिला कोटामा सीमित रहेको पराजुलीको ठम्याइ छ ।

यस्तै, तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा शुक्लागण्डकीकै लक्ष्मी सिग्देलले पनि उम्मेदवारी दिएकी छन् । यी दुईबाहेक अरु महिला नेतृले खुलेर आकांक्षा व्यक्त गर्न सकेका छैनन् । महिला आकांक्षी धेरै भए पनि पर्ख र हेरको स्थितिमा रहेको कांग्रेस नेतृ सरिता गुरुङ बताउँछिन् ।

‘योगदानको आधारमा पद पाउनुपर्छ भन्ने धेरै छन् । पहिल्यैदेखि पेलिँदै आएको भएर महिला दिदीबहिनीले उम्मेदवारी सार्वजनिक गर्न डराएका हुन । ९ गते नै अधिवेशन हुने नहुने अन्योल कायमै छ । आकांक्षी भएर उम्मेदवारी दिँदा कतै पाखा लगाईदिने त हैनन् भनेर पनि कतिपय सार्वजनिक भएका छैनन्’, उनले भनिन् ।

पार्टीको विधानले सातजना पदाधिकारीमा महिला अनिवार्य उल्लेख नगर्दा महिला झनै पछाडी पर्ने उनको भनाइ छ । जिल्लाका ८५ वडामा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा चार जनामात्र महिला सभापति बनेर नेतृत्वमा पुगेका छन् । पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई आकांक्षासमेत व्यक्त गर्न नसकेको नेपाल महिला संघ तनहुँकी सभापति पवित्रादेवी पौडेल बताउँछिन् ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १६:०६