एनआईसी एशिया बैंकले २ अर्ब भन्दा बढी खुद नाफा कमायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एनआईसी एशिया बैंकले २ अर्ब भन्दा बढी खुद नाफा कमायो



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ अर्ब भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात २.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, बैंकको यस अवधिमा वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य गिरावट आएपछि खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको देखिन्छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९३ करोड ५६ लाख रुपैयाँमात्र यस्तो आम्दानी गरेको छ।

पुस मसान्तसम्ममा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो ।

प्रकाशित : १५ माघ २०७७, बिहीबार ११:३१