काठमाडौं । काठमाडौंको मैतीदेवीमा एक व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भए । उनलाई अस्पतालको आइसोलेसनमा राख्न लगियो । भित्र रहेका अन्य व्यक्ति १५ दिनको होम क्वारेन्टाइनमा बसिरहे तर व्यक्ति बसेको घर, कोठा र उसले प्रयोग गरेका सरसामान कसरी सङ्क्रमणमुक्त पार्ने भन्ने बारेमा अन्योल देखियो । जसका कारण छरछिमेकसमेत घर नजिक जान डराए ।
यो मात्र होइन अचेल मास्क लगायत सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिले प्रयोग गरेका सामग्री पनि घरायसी फोहोरमा मिसिएर त्यसै बाहिर जाने गरेका छन् । कतिपय स्थानमा ढल, नदी, सडक वा अस्पताल आसपास जथाभावी प्रयोग गरिएका मास्क फ्याँकिएका भेटिन्छन् ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बिरामीले प्रयोग गरेको मास्क, ओढ्ने ओछ्याउने र प्रयोग गर्ने अन्य वस्तुबाट सर्ने जोखिम उत्तिकै रहन्छ । सङ्क्रमणको जोखिमसँगै वातावरण पनि दूषित बनाइरहेको वातावरण विभागका वातावरणविद् भूपेन्द्र शर्माले बताए ।
सङ्क्रमण दर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा व्यापक हुँदै गइरहेको छ । स्थानीय, प्रदेश, सङ्घीय तथा जिल्ला प्रशासन कार्यालयको सङ्क्रमणको जोखिम बढे अनुसार आफ्ना क्षेत्रमा निषेधाज्ञाको आदेश दिएको छ । तथापि अस्पताल आउजाउमा रोक लगाइएको छैन ।
त्यस्तै अत्यावश्यक खाद्यान्न, तरकारी, पानी लगायतका पसल पनि निश्चित समय खोलिने गछनर्् तर मानिसले आफू घरभित्रै बसे पनि आफ्नो वरपर प्रयोग गरिएका वस्तु जथाभावी फाल्ने क्रम नरोकिएको वातावरणविद् शर्मा बताउँछन् ।
सबैभन्दा बढी जोखिम सङ्क्रमित र स्वास्थ्यकर्मीले प्रयोग गर्ने मास्कले बढाइरहेको उनले बताए । फोहोरको थुप्रोमा, ढल तथा नदीमा र सडक छेउछाउमा फालिने मास्कमा भाइरस रहेको खण्डमा त्यसलाई छुने व्यक्तिलाई पनि सङ्क्रमण हुनसक्ने खतरा मानिसले नबुझेको उनी सुनाउँछन् ।
त्यस्तै यतिबेला अस्पतालजन्य फोहोर व्यवस्थापन पनि उही परम्परागत ढङ्गमा नै विसर्जन हुनु सङ्क्रमण फैलाउने अर्को चुनौती बनेको दाबी उनको छ । यसले हरेक दिन घर, टोलसँगै अस्पतालबाट फोहोर सङ्कलन गर्ने व्यक्ति सबैभन्दा उच्च जोखिममा परेका छन्, उहाँ भन्नुहुन्छ । अस्पतालबाट ठोससँगै तरल फोहोरबाट पनि कोरोना भाइरस बाहिर समाजको सम्पर्कमा पुगेको अनुमान उनी गर्छन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पनि फोहोर तथा सङ्क्रमणयुक्त मास्कबाट कोरोना भाइरस सर्न सक्ने जोखिम रहेको स्वीकार गर्छन । तर मास्क मुखबाट हटेको आठ घण्टामा भाइरस मरिसक्ने दाबी उनले गरे। यो बीचमा कसैको सम्पर्कमा सङ्क्रमितले प्रयोग गरेको मास्क आउन नदिने उपाय अपनाउनुपर्नेमा उनले जोड दिए ।
उहाँका अनुसार बिरामीले प्रयोग गरेको ओढ्ने, ओछ्याउने तथा प्रयोग गरेका सामग्रीमा पनि लामो समय भाइरस रहँदैन तर बिरामीको सम्पर्कमा रहनेले सावधानी अपनाएर मात्र त्यस्ता चिजबिज छुनुपर्ने उनले सुझाए ।
अस्पतालजन्य फोहोरबाट कोरोना सङ्क्रमण मात्र होइन हेपाटाइटिस ‘बी’ लगायतका अन्य विभिन्न रोग सहजै मानिसमा सर्न सक्छन् । त्यसकारण अस्पतालजन्य फोहोर व्यवस्थापनमा यतिबेला विशेष ख्याल गर्नुपर्ने उनले औँल्याए ।
कोरोना भाइरस एक जीवित जीव हो । त्यसैले यो जीवित जीवमा नै रहन मन पराउँछ । अझ विश्वव्यापी अध्ययनले मानिसबाट मानिसमा मात्र सर्ने भन्ने पत्ता लगाएकाले पनि सङ्क्रमित मानिस र उसले प्रयोग गरेका सामग्रीबाट टाढै रहनुपर्ने हुन्छ ।
दैनिक फोहोर उठाउने र ढलनलमा काम गर्ने कामदारले सुरक्षित हुने लामो बुट, बलियो ठूलो पञ्जा, राम्रो मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिए ।
सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामग्री जथाभावी फाल्नुभन्दा पनि निसङ्क्रमण गरेर मात्र फाल्ने वा प्रयोग गर्नुपर्छ । सावधानी साथ घाममा सुकाउने गर्दा पनि भाइरस मरेर जाने भएकाले ओसमा नराखी घामको प्रयोग गर्न सकिने डा. गौतमले बताए ।आजको गोरखापत्र दैनिकबाट
Comment