काठमाडाै । २०७२ साल संकट र सकसको वर्ष भयो । अर्थतन्त्रका सबै क्षेत्रमा निराशा र नोक्शानी मात्रै भयो । तर पुँजीबजार मात्रै एउटा त्यस्तो क्षेत्र हो, जसलाई २०७२ सालले पनि छुन सकेन ।
भुँइचालो र नाकाबन्दीलाई पनि पुँजीबजारले बडो साहसका साथ सामना गर्दै आफ्नो बाटोमा अघि बढिरह्यो ।लगानीकर्तामा भुँइचालोको पीडा र नाकाबन्दीको सकस विर्साउने खुसी पुँजीबजारले ल्याइदिएको छ । पुँजीबजारका लगानीकर्ताहरु यो वर्षभरी पछुताउनु वा पिरोलिनु पर्ने अवस्था आएन ।
वर्षको अन्तिम दिन नेप्से १३८८ को विन्दुमा उक्लेको छ । यो अहिलेसम्मकै सर्वाधिक उच्च विन्दु हो । खराब अर्थतन्त्रको चित्र पेस गर्दै पुँजी बजारको नकारात्मक भविष्य अनुमान गर्नेहरु यसपटक फेल खाएका छन्। संभवतस् अर्थ विज्ञ, बजार विश्लेषक र लगानीकर्ताले समेत भूकम्प र नाकाबन्दीको सकस सामना गरेर पुँजी बजार अहिलेको विन्दुमा आइपुग्ला भनेर अनुमान गरेका थिएनन्। तर बजारले सबैलाई चकित पार्दै एकपछि अर्को रेकर्ड कायम गर्दैछ। अर्थतन्त्रका खराब सूचकहरुलाई सामाना गर्दै सेयर बजार परिपक्क ढंगले आफ्नै गतिमा अघि बढेको छ।
विनाशकारी भूकम्पको मारमा परेको अर्थतन्त्र करिब पाँच महिना लामो नाकाबन्दीका कारण निकै नाजुक अवस्था छ तर पुँजी बजारमा यसको खासै प्रभाव देखिएन।
२०७२ को वैशाख १२ को भूकम्पपछि सेयर बजार सय अंक घटेर ८३८ मा पुगेको थियो। छोटो समय कमजोर देखिएको बजार तत्कालै तंग्रिएको थियो। संविधान बन्ने सुनिश्चितता र पुँजी वृद्धि गर्ने राष्ट्र बैंकको नयाँ नीतिले सेयर बजामा भूकम्पलाई विर्साएको थियो।
मुख्य दलरुबीच १६ बुँदे सहमतिसँगै संविधान बन्ने निश्चितता र नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि गर्ने नयाँ नीतिपछि नेप्से परिसूचक २०६५ भदौ २२ मा ११९१.९२ विन्दुमा पुगेर नेपाली पुँजी बजारमा नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो। २०६५ भदौ १५ मा कायम भएको ११७५ को उच्च विन्दुको रेकर्ड सात वर्षपछि तोडिएको थियो।
भूकम्पपछि सुस्ताएको सेयर बजार संविधान निमार्णका लागि दलहरुबीच २०७२/०२/२५ मा भएको १६ बुँदे सहमति भएपछि केही सुधार भएको थियो। सुधारको क्रममा रहेको सेयर बजारलाई उकास्ने काम मौद्रिक नीतिले गर्यो ।
राष्ट्रबैंकले साउन ७ गते सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकले आठ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकले दुई अर्ब ५० करोड तथा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइउनुपर्नेछ।
बाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुको पुँजी बढाउने राष्ट्रबैंकको नीतिपछि शेयर बजारमा एक प्रकारको उछाल नै आएको थियो। सांविधान जारी भए लगत्तै सुरु भएको मधेस आन्दोलन र नाकाबन्दीका कारण सेयर बजारमा केही सुस्तता र कनफ्यूजन देखिए पनि बजारले आत्मविश्ववास गुमाएन। नाकाबन्दीका कारण मुलुक ठप्प भएर अर्थतन्त्र सिकिस्त हुँदा पनि सेयर बजारले एकपछि अर्को रेकर्ड कायम गरिरह्यो।
एसियाली विकास बैंक एडीबीले चालु वर्षमा नेपालको आर्थिक वृद्धि दर दक्षिण एसियामै सबैभन्दा कम हुने प्रक्षेपण सार्बजनिक गरेको छ।चालु वर्षमा भने बृद्धि दर १।५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण छ। यो वृद्धि प्रतिशत सरकारले अनुमान गरेभन्दा पनि कम हो। बजेट पेस गर्ने क्रममा सरकारले आर्थिक वृद्धि दर दुई प्रतिशतमा खुम्चिने संकेत गरेको थियो।अर्थतन्त्रको यो खराब संकेत र सन्देशसँग बजारको खासै साइनो देखिएन।
नाकाबन्दीको अन्त्यसँगै राजनीतिक वातावरणमा देखिएको सुधार र स्थायित्वको संकेत, प्रबिधिमा व्यापक सुधार, अत्यधिक तरलता र न्यून बैंक ब्याजदर, माग बढी र आपूर्ति, परिपक्क वृद्ध, लगानीका लागि अन्य भरपर्दो विकल्पको अभावका कारण बजार अझै माथि जाने संकभावना देखिन्छ। डेढ खरबको तरलता छ। नगद बढी थुप्रिएपछि राम्रा भनिने बैकले निक्षेपमा दुई प्रतिशतको हाराहारीमा ब्याज दिन थालेका छन्।
नाकाबन्दी अर्थतन्त्र संकटमा पर्दा पनि अत्तालिएकालगानीकर्ता नाकाबन्दीखुलेपछि स्वभाविक रुपमा उत्साहितभएका छन् ।
नाकाबन्दीको अन्त्य र नेपाल भारतबीचको सम्बन्धमा सुधारका संकेत देखिएपछि त्यसको सकारात्मक असर लगानीकर्ताको मनोविज्ञानमा देखिएको छ। त्यसैगरी मधेस आन्दोलनलाई सम्बोधन गरेर मधेस मुद्दालाई सम्बोधनगर्न राजनीतिक तहबाट भइरहेको पहलको सकारात्मक प्रतिविम्व पनि पुँजी बजारमा देखिएको छ ।
कांग्रेसको महाधिवेशन र यसको नतिजाले पनि पुँजीबजारको मनोविज्ञानमा महत्वपूर्ण प्रभाव देखिन्छ । उदार र लचिलो नेताका रुपमा चिनिएका शेरबहादुरको नेतृत्वले पुँजीबजारलाई थप बल पुग्ने विश्वास लगानीकर्तामा देखिन्छ।
कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुनसक्ने संकेत र कांग्रेसको नेतृत्वमा बलियो सरकार बन्नसक्ने आसले पनि लगानीकर्तामा एक खालको उत्साह देखिएको छ। कांग्रेस सभापतिमा निर्वाचित भएपछि देउवाले वर्तमान सरकारमा नजाने बताएर सरकार परिवर्तन हुनसक्ने संकेत दिइसकेका छन् ।
बजारलाई बल प्रदानगर्ने अर्को महत्वपूर्ण पक्ष प्रविधिमा देखिएको व्यापक सुधार हो । सेयर किनेपछि आफ्नो नाममाल्याउन एक वर्ष नै कुर्नुपर्ने पुँजीबजारको निकै लामो र झन्झटयुक्त कागजीयुग अब लगभग अन्त्य हुँदैछ ।
अधिकांश कम्पनी डिम्याट पद्धतिमा गइसकेका छन् भने साउनदेखि साधारण सेयरमापनि डिम्याट खाता खोल्नुपर्ने नियम लागु हुँदैछ । यसले सेयर कारोबार निकै सहज, छरितो र पारदर्शी भएको छ । किनेको तीनचार दिनमै आफ्नो डिम्याट खातामा सेयर जम्माहुने र त्यसलाई चाहेको बेला बेच्न सकिने अवस्था छ ।
प्रतिकुल अर्थतन्त्रमा पुँजीबजारलाई उकास्न मद्दत पुर्याउने अर्को महत्वपूर्ण फ्याक्टर भनेको बैंकमा जम्मा भएको अत्यधिक तरलता हो । लगानीका अन्य क्षेत्रहरुको अभाव भएपछि नगद प्रवाह हुन सकेको छैन र बैंक एवं वित्तिय क्षेत्रमाकरिब डेढ खर्ब जति लगानी योग्य तरलता छ। त्यो रकम यति बेला पुँजी बजारमा आइरहेको छ।
मर्जर प्रक्रियाका लागि ठूलो संख्यामा बैंक तथाकम्पनीहरु बाहिरिँदा पनि दैनिक पचास करोड बढीको कारोबार भइरहेको छ। बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप ब्याजदरमा भारी कटौती गरिसकेका छन् र बैंकमादुई प्रतिशत ब्याज पाइने भएपछि लगानीकर्ताहरु पुँजीबजारतिर आकर्षित भएका छन्। निकै कमजोर भनिएका कम्पनीको सेयरमा लगानी गर्दा पनि बैंकको ब्याजभन्दा दोब्बर कमाइ हुने अवस्था छ।
संकटले घेरिएको २०७२ मा समेत नधरमराएको पुँजी बजारले नयाँ वर्षमा ऐतिहासिक उचाइ हासिल गर्ने आसा लगानीकर्ताहरुले गरेका छन् ।
Comment