काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जन गरेका सुन र चाँदी लगायत बहुमूल्य धातुहरू बैंकमा निक्षेपको रूपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउन चासो नदेखाउँदा मौद्रिक नीतिमा समेत समेटिएको उक्त कार्यक्रम अघि बढ्न सकेको छैन । यसबारे अर्थमन्त्री डा. युवराज खतिवडाले चासो देखाएका छन् । गत हप्ता अर्थ मन्त्रालयमा आयोजित विकास समाधान समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपाललाई तत्काल कार्यविधि बनाउन अर्थमन्त्री खतिवडाले निर्देशन दिएको मन्त्रालय स्रोत बताउँछ ।
‘बजेट कार्यान्वयनमा राष्ट्र बैंकले तदारुकता नदेखाएकोप्रति अर्थमन्त्रीको चासो थियो, कार्यविधि बनाएर तत्काल उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो,’ बैठकमा सहभागी अर्थ मन्त्रालयका एक सहसचिवले बताए ।
सरकारले घोषणा गरेको उक्त व्यवस्था लागू गर्न राष्ट्र बैंकको कार्यविधि आवश्यक थियो । कार्यविधि नबन्दा निश्चित ब्याजदर तथा शर्तसहित सर्वसाधारणको सुन÷चाँदी निक्षेपका रूपमा राख्न बैंकहरूले सार्वजनिक आह्वान गर्न सकेका छैनन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अध्ययनका क्रममै यो विषय रहेकाले कार्यविधि बनाउन ढिलाइ भएको बताएका छन् । ‘यो नेपालको सन्दर्भमा नयाँ विषय भएकाले विस्तृत अध्ययन गर्न समय लागेको हो, पुसभित्रै कार्यविधि बनाउने राष्ट्र बैंकको तयारी छ,’ उनले भने । छिमेकी मुलुक भारतमा समेत यस्तो खाले कार्यक्रम ल्याइए पनि प्रभावकारी नभएकोप्रति राष्ट्र बैंकले थप अध्ययन गरिरहेको उनको भनाइ छ ।
नेपालमा रहेको बहुमूल्य धातु कति छ भन्ने हालसम्म यकिन तथ्यांक नभएको बेला सरकारले ल्याएको उक्त कार्यक्रम सही रहे पनि कार्यान्वयन हुन नसक्नु दुर्भाग्य रहेको जानकारहरू बताउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
Comment