काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ मंगलबार दिउँसो ३ बजे बाँडफाँट हुँदैछ । अपर तामाकोशीले रु. १०० रुपैयाँ अंकित दरका १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणहरुका लागि निश्कासन गरिएको थियो । आइपीओमा थुप्रैले दोहोर्याएर आवेदन दिएको भेटिएपछि बाँडफाँटमा केही ढिलाई भएको हो । यसमा करिब ६ हजार जनाले दोर्याएर आवेदन दिएको बिक्री प्रबन्धकको भनाई छ ।
तामाकोशीको सेयर न्यूनतम पनि ४० कित्ता सबैले पाउने प्रारम्भिक अनुमान छ । कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ । यसरी सेयर पाइसकेका मध्ये केहीले पुनः दोहोर्याएर भरेपछि छानबिन गर्दा बाँडफाँटमा विलम्ब भएको हो ।
यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ । ३ लाख ४६ हजार १६६ जना आवेदकले ६ करोड ७० लाख ५८ हजार २८० कित्ताका लागि सेयर भरेका छन् ।
Comment