कोलम्बो / श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ । यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।
प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको थियो भन्नुभएको छ ।
ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पनि उहाँले बताउनु भएको छ ।
शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । तर पनि सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ ।
श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा आएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
Comment