काठमाडौँ / भृकुटीमण्डपमा वैशाख २६ र २७ गते पुँजी बजारसम्वन्धी एक्स्पो हुने भएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा नेपालमै पहिलो पटक ‘क्यापिटल मार्केट एक्स्पो’ सञ्चालन हुन लागेको हो ।
दुई दिनसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने प्रदर्शनीमा पुँजी बजारसँग सम्वन्धित कम्पनी एवम् संस्थाहरुले आ–आफ्नो स्टल राख्नेछन् । प्रदर्शनीमा मर्चेन्ट बैंकर, सेयर ब्रोकर, म्युचुअल फण्ड, क्रेडिट रेटिङ कम्पनी, नेपाल धितोपत्र बोर्ड लगायतका स्टल रहने बताइएको छ ।
पुँजी बजारका बारेमा हालसम्म प्रकाशन भएका विविध अध्ययन सामग्रीहरुको निःशूल्क वितरण, पुँजी बजारका विज्ञहरुको उपस्थितीमा अन्तक्र्रिया कार्यक्रम संचालन र सहभागीहरुका मनमा उठेको जिज्ञासाहरुको सम्बोधन पनि कार्यक्रममा नै गरिने बताईएको छ ।
धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीले बोर्डको स्थापना भएको २६ वर्षमा पहिलोपटक क्यापिटल मार्केट एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए । ‘अहिले सेयर बजारमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति बढिरहेको अवस्था छ, बजारमा जोखिम कम गर्नका लागि सेयर बजारबारे सचेतना अभिवृद्धि गर्नु अत्यन्तै आवश्यक छ’ उनले भने । एक्स्पोको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेछन् ।





Comment