स्थानीय तहमा बैंक स्थापना हुन सकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्थानीय तहमा बैंक स्थापना हुन सकेन



बैतडी ।  जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन ।बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् ।

सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको कारोवार गर्न सदरमुकाम जान बाध्य भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कायमै रहेको सिगास–४ का जसवीर साउदले बताउनुभयो । खाता खोल्नका लागि बढी पैसा खर्च हुने गरेको सिगास गाउँपालिका–४ की सारथी धामीले बताए।

गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि यहाँका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको सिगास गाउँपालिकाका इन्जिनियर मनोज धामीले बताए । बैंक नभएका कारण कारोवारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको छ ।

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य भएको बताए । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ ।

यस्तै, खाता खोल्नका लागि उपभोक्ता समितिका पदाधिकारीलाई सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताए ।

पुर्चौडी नगरपालिकामा एक महिना अगाडिमात्रै ग्लोबल आइएमई बैंकको शाखा स्थापना गरिएको छ भने एक हप्ता अगाडिमात्रै सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा स्थापना गरिएको छ । सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा विभिन्न बैंकका शाखा छन् ।

प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १४:१६