बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ ।
जग्गाको मुआब्जा विवादका कारण फागुनभित्रै विद्युत् उत्पादन गर्ने तयारी प्रभावित बनेको छ ।
बाँधदेखि विद्युतगृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइनअन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको छ निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको उहाँले बताउनुभयो । शर्माको चार रोपनी जग्गा आयोजना प्रभावित क्षेत्रमा पर्छ । उहाँले रु एक करोड पाँच लाख मुआब्जा माग गर्नुभएको छ ।
आयोजनाले ३२ रोपनी जग्गाको मुआब्जा रु ९२ लाख वितरण गरिसकेको छ । “एउटै व्यक्तिको कारण आयोजनाको काम रोकिएको छ,” अधिकारीले भन्नुभयो । जग्गाको सरकारी मूल्य र भएको क्षतिको मूल्यांकनका आधारमा मुआब्जा दिन तयार रहेको उहाँको भनाइ छ ।
निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी रु ४० हजार, बारीको रु ७० हजार र खेतको रु दुई लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमतिअनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।
मुआब्जा विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीयवासी चित्रप्रसाद चापागाईं, तिलक थापा, विष्णु आचार्य र चिरञ्जीवी आचार्य रहनुभएको समिति गठन गरेको छ । रु ३३ करोडको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ ।
जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको पेनस्टक पाइपमार्फत् वडा नं– ५ विनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर रहेको छ ।
Comment