दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थ राजनीति

दूरसञ्चार सेवाको गुणस्तरमा सम्झौता हुँदैन : सञ्चारमन्त्री 

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक सेवा प्रदायक तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार र नियामक निकायलाई आफ्नो अधिकार प्रयोग गरी जवाफदेही बनाउन निर्देशन दिए ।

उनले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले यसको गुणस्तर सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए ।

तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे । 

‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन । गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने ।

उनले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने विषयलाई मात्र केन्द्रमा राख्न नहुने बताउँदै अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता र सम्झौताअनुसार उपभोक्तालाई सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । गुणस्तरीय सेवा प्रदान गरेर मात्र व्यवसायबाट नाफा आर्जन गर्ने व्यावसायिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सेवा प्रदायक र नियामक निकाय दुवैमा जवाफदेहिताको संस्कृति स्थापित हुनुपर्ने उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले गल्ती गर्नेले त्यसको जिम्मेवारी र परिणाम बेहोर्नुपर्ने व्यवस्था प्रभावकारी हुनुपर्ने बताए ।

‘जबसम्म जवाफदेही नहुँदा त्यसको मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुँदैन, तबसम्म वास्तविक जवाफदेहिता स्थापित हुँदैन । अनुरोधले मात्र काम गर्दैन, केही पत्राचार र निर्देशनले पनि पुग्दैन,’ उनले भने ।

नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै उनले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि आवश्यक कारबाही गर्नुपर्ने बताए ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १४:११ 26 November, 2026 2:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।