फोनपे र नबिल बैंकको सहकार्यमा विश्वभरका पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थतन्त्र

फोनपे र नबिल बैंकको सहकार्यमा विश्वभरका पर्यटकलाई लक्षित गर्दै ‘नेपाल नाउ’ सार्वजनिक

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौँ। फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकका लागि दैनिक भुक्तानीलाई सहज बनाउने उद्देश्यले डिजिटल भुक्तानी एप ‘नेपाल नाउ’ सार्वजनिक गरेको छ। यस एपमार्फत अन्तर्राष्ट्रिय पर्यटकले नेपालको विस्तृत क्यूआर भुक्तानी सञ्जालमा पहुँच प्राप्त गरी देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्ट स्थानहरूमा भुक्तानी गर्न सक्नेछन्।

नेपालको डिजिटल भुक्तानी प्रणाली निरन्तर विस्तार हुँदै गएको सन्दर्भमा नेपाल नाउले अन्तर्राष्ट्रिय पर्यटकलाई पनि क्यूआर भुक्तानीको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले पर्यटकलाई नेपालका स्थानीय उपभोक्ताले जस्तै सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्षम बनाउनेछ।

नेपाल नाउमार्फत पर्यटकले आफ्नो वैध राहदानी र नेपाल प्रवेशाज्ञा (भिसा) प्रयोग गरी दर्ता गर्न सक्नेछन्। त्यसपछि अन्तर्राष्ट्रिय भिसा, मास्टरकार्ड वा युनियनपे कार्डमार्फत रकम लोड गरी एपबाटै फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन्। यस सुविधाले नेपाल भ्रमणका क्रममा दैनिक कारोबारका लागि पूर्ण रूपमा नगदमै निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै भुक्तानीलाई थप सहज बनाउनेछ।

नेपाल नाउ सार्वजनिक गरिएको अवसरमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, “नेपाल नाउमार्फत हामी नेपालको डिजिटल भुक्तानी प्रणालीको सुविधा अन्तर्राष्ट्रिय पर्यटकसम्म विस्तार गर्दैछौँ। नेपालले क्यूआर भुक्तानीको क्षेत्रमा व्यापक सञ्जाल निर्माण गरिसकेको छ र अब यो पूर्वाधारलाई विश्वभरबाट नेपाल आउने पर्यटकका लागि पनि सहज रूपमा उपलब्ध गराउने अवसर हामीले देखेका छौँ। हाम्रो उद्देश्य पर्यटकका दैनिक भुक्तानीलाई सहज बनाउनुका साथै स्थानीय व्यवसाय तथा मर्चेन्टहरूलाई अन्तर्राष्ट्रिय ग्राहकसँग जोडिने थप अवसर सिर्जना गर्नु हो।”

नेपाल नाउको सुरुवात फोनपेको डिजिटल भुक्तानी पहुँच विस्तार गर्ने तथा नेपाललाई डिजिटल रूपमा जोडिएको गन्तव्यका रूपमा स्थापित गर्ने निरन्तर प्रयासको अर्को महत्वपूर्ण कदम हो। अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको विद्यमान क्यूआर भुक्तानी प्रणालीसँग जोड्दै यस पहलले डिजिटल वित्तीय सेवा र पर्यटन क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाल नाउ एप एप्पल एप स्टोर र गुगल प्ले स्टोरमा डाउनलोडका लागि उपलब्ध छ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १२:५२ 26 November, 2026 12:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।