टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक, मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अटो

टीभीएसको नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी सार्वजनिक, मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । टीभीएस नेपालले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। रिफाइन्ड इन्जिन, यूएसडी फ्रन्ट फोर्क र आधुनिक प्रविधिसहितको यो मोटरसाइकल अपाचे ट्र्याक एक्सपेरियन्स (एटीई) कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

टीभीएस मोटर कम्पनीको नेपालस्थित साझेदार जगदम्बा मोटर्स प्रालिले आयोजना गरेको कार्यक्रममा टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकल अनावरण गरेका हुन्।

अनावरणपछि मोटरसाइकलका विशेषताबारे जानकारी दिँदै टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले यसको मुख्य आकर्षण रिफाइन्ड इन्जिन र सहज प्रदर्शन रहेको बताए। उनका अनुसार एलईडी डीआरएलसहितको प्रोजेक्टर हेडल्याम्प, टीभीएस स्मार्टएक्सकनेक्टसहितको टीएफटी डिस्प्ले, डुअल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमले मोटरसाइकललाई थप सुरक्षित, प्रविधिमैत्री र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्छ।

नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडीमा तीनवटा राइड मोड उपलब्ध छन्। दैनिक आवागमनका लागि अर्बन मोड, स्पोर्टी प्रदर्शनका लागि स्पोर्ट मोड र प्रतिकूल सडक तथा मौसममा ट्र्याक्सन कन्ट्रोलको सहयोगसहित रेन मोड प्रयोग गर्न सकिन्छ। राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार मोड छनोट गर्न सक्नेछन्।

मोटरसाइकल ग्रेनाइट ग्रे र म्याट ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ। नेपाली बजारमा यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल देशभरका टीभीएस शोरुममार्फत बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित : ६ मंसिर २०८३, आइतबार १४:३१ 22 November, 2026 2:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।