उज्यालो नेपाल पार्टीको एक वर्षे यात्रामा आशा र निराशा दुवै अनुभव भयो : कुलमान घिसिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थ राजनीति

उज्यालो नेपाल पार्टीको एक वर्षे यात्रामा आशा र निराशा दुवै अनुभव भयो : कुलमान घिसिङ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्थापनाको एक वर्षे यात्रामा विभिन्न चुनौती, आशा, निराशा र सम्भावनाका अनुभव हासिल गरेको बताएका छन् ।

पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा पार्टीलाई देशव्यापी रूपमा विस्तार गरी जनताको विश्वासअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘हाम्रो एक वर्षको यात्रा आशा, निराशा र सम्भावनाबीच अघि बढेको छ । विभिन्न चुनौतीको सामना गर्दै हामी अहिले देशव्यापी रूपमा संगठन विस्तार र सदस्यता अभियानमा जुटेका छौँ । आगामी दिनमा जनताको विश्वास र साथलाई आत्मसात् गर्दै उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा स्थापित गरी अघि बढ्ने हाम्रो सङ्कल्प छ ।’

घिसिङले पार्टी स्थापनाका क्रममा ५१ जनाको सहभागितामा सुरु भएको अभियान अहिले देशव्यापी संगठन तथा सदस्यता विस्तारको चरणमा पुगेको बताए । स्थापनापछि अर्को दलसँग एकीकरण गर्ने क्रममा भएको सहमति कार्यान्वयन नभएको घटनालाई उनले राजनीतिक दुर्घटनाको संज्ञा दिए। उक्त घटनाले पार्टीलाई केही समय निराश बनाए पनि त्यसबाट पाठ सिक्दै उज्यालो नेपाल पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाइएको उनको भनाइ थियो ।

निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीले जनताको मन जित्न सफल भएको घिसिङले दाबी गरे । निर्वाचनपछिको निराशालाई चिर्दै अहिले पार्टी संगठन विस्तार र सदस्यता अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताए ।

उनले उज्यालो नेपाल पार्टी कुनै पनि प्रकारको अतिवादको पक्षमा नरहेको स्पष्ट पारे। आर्थिक, धार्मिक, जातीय, वर्गीय तथा लैङ्गिक अतिवादबाट टाढा रहेर सहकार्य, सद्भाव र समावेशितामा आधारित मध्यमार्गी राजनीतिक बाटो पार्टीले अवलम्बन गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘हामीले ५१ जनाबाट सुरु गरेको उज्यालो नेपाल पार्टी अहिले देशव्यापी रूपमा संगठन विस्तारको अभियानमा अघि बढिरहेको छ । स्थापनाकै क्रममा केही राजनीतिक दुर्घटनाको सामना गर्नुप¥यो, निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न सकेनौँ। तर हामी निराश नभई त्यसबाट पाठ सिकेर अगाडि बढेका छौँ । उज्यालो नेपाल पार्टी कुनै पनि अतिवादको पक्षमा छैन । सहकार्य, सद्भाव र समावेशितालाई आत्मसात् गर्दै हामी मध्यमार्गी राजनीतिक बाटोबाट अघि बढ्छौँ ।’

घिसिङले उज्यालो नेपाल पार्टीको आर्थिक रूपान्तरणको मुख्य आधार ’हरित क्रान्ति’ रहेको बताए । नेपालको प्राकृतिक स्रोतसाधन, जलविद्युत्, कृषि, वन तथा पर्यटन क्षेत्रको दिगो र व्यावसायिक उपयोगमार्फत देशलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने पार्टीको लक्ष्य रहेको उनले उल्लेख गरे ।

प्रकाशित : ५ मंसिर २०८३, शनिबार १८:२६ 21 November, 2026 6:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।