२० वाणिज्य बैंकबीच अन्तर–बैंक फुटसल प्रतियोगिता हुँदै, पुरुष र महिला दुवैको सहभागिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

२० वाणिज्य बैंकबीच अन्तर–बैंक फुटसल प्रतियोगिता हुँदै, पुरुष र महिला दुवैको सहभागिता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रका कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दपूर्ण वातावरण अभिवृद्धि गर्ने उद्देश्यले पहिलोपटक अन्तर–बैंक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले मंसिर ५ र ६ गते ‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ आयोजना गर्न लागेको हो । धन्वन्तरी फुटसल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० वटै वाणिज्य बैंकको सहभागिता रहनेछ । प्रतियोगिता पुरुष र महिला गरी दुई विधामा सञ्चालन हुनेछ ।

बैंकिङ क्षेत्रका कर्मचारीलाई व्यावसायिक कार्यक्षेत्रभन्दा बाहिर एकै ठाउँमा भेला गराई आपसी मित्रता र सहकार्य सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । प्रतियोगिताले कर्मचारीबीच टिमवर्क, स्वस्थ प्रतिस्पर्धा र मनोरञ्जन प्रवर्द्धन गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य र संस्थागत सम्बन्धलाई थप प्रगाढ बनाउने संघको विश्वास छ । यसले खेलकुदप्रतिको रुचि र स्वस्थ जीवनशैलीलाई समेत प्रोत्साहन गर्ने संघले जनाएको छ ।

प्रतियोगिताको तयारीस्वरूप संघले प्रि–टुर्नामेन्ट ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको थियो । सहभागी बैंकका टिम व्यवस्थापकलाई प्रतियोगिताका नियम, खेल सञ्चालन प्रक्रिया तथा आवश्यक व्यवस्थापकीय पक्षबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का रेफ्रीले खेलका नियम तथा प्राविधिक पक्षबारे जानकारी गराउँदै सहभागी टोलीलाई अनुशासित, मर्यादित र खेलभावनाका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका थिए ।

नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको नीतिगत तथा संस्थागत विकासका साथै सदस्य बैंकबीच सहकार्य र सम्बन्ध विस्तारका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । यसैको निरन्तरताका रूपमा आयोजना हुन लागेको पहिलो अन्तर–बैंक फुटसल कपलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने संघको योजना छ ।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १७:०४ 20 November, 2026 5:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।