वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । निर्वाचन आयोगले आगामी २०८४ सालमा स्थानीय तह र प्रदेशसभाको निर्वाचन छुट्टाछुट्टै समयमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने गरी प्रस्ताव गरेको हो।

शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले दुवै तहको निर्वाचनका लागि छुट्टाछुट्टै समयतालिका प्रस्ताव गरेको हो।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन करिब पाँच महिना मात्रै बाँकी रहेकाले आयोगले निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। सोही क्रममा आयोगले राजनीतिक दलहरूसँग परामर्श सुरु गरेको हो।

आयोगमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आयोग पुगेका थिए। यद्यपि, उनले पार्टीको निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाललाई छलफलमा सहभागी हुन जिम्मेवारी दिएर बाहिरिएका थिए।

छलफलका क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आयोगले अघि सारेको निर्वाचन समयतालिका उपयुक्त देखिएको प्रतिक्रिया दिएका छन्। स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव सकारात्मक रहेको बताउँदै उनले पार्टीभित्र थप छलफल र अध्ययन गरेपछि अन्तिम धारणा सार्वजनिक गर्ने बताएका छन्।

यसअघि स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते सम्पन्न भएको थियो भने प्रदेशसभा निर्वाचन सोही वर्षको मंसिर ४ गते भएको थियो। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हुने भएकाले हालका जनप्रतिनिधिको कार्यकाल आगामी २०८४ वैशाखमा सकिँदैछ।

जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले आयोगले आवश्यक तयारी अघि बढाएको हो।

यसअघि स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने विकल्पबारे पनि छलफल भएको थियो। तर, दुवै तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने समय फरक रहेकाले आयोगले छुट्टाछुट्टै निर्वाचन गर्ने प्रस्ताव अघि सारेको हो।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १५:१३ 20 November, 2026 3:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।