सिन्धुपाल्चोक। तामाङ भाषा, संस्कृति र पहिचानलाई शैक्षिक प्रणालीमा स्थापित गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन–२०८३ सुरु भएको छ। काठमाडौँ विश्वविद्यालय र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनले मातृभाषाको अध्ययन–अध्यापन, अनुसन्धान, संस्थागत विकास तथा सूचना प्रविधिमार्फत भाषाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।
असोज २६ देखि २८ गतेसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन वक्ताहरूले मातृभाषाको संरक्षण नारामा मात्र सीमित नराखी विद्यालय तथा विश्वविद्यालयको शैक्षिक अभ्याससँग जोड्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले भाषाको पुस्तान्तरण, अध्ययन–अनुसन्धानमा लगानी, स्थानीय तहको सक्रियता र आधुनिक प्रविधिको उपयोगलाई तामयीग भाषाको विकासका महत्त्वपूर्ण आधारका रूपमा औँल्याएका छन्।
नेपाल तामाङ घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बागमती प्रदेशका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा विशिष्ट अतिथि थिए।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सल्लाहकार, डिन बालकृष्ण बल तामाङ, डा. टीकाराम पौडेल
डा. मुक्तसिंह तामाङ, नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान, भाषा समन्वय प्रमुख बिलाम मुक्तानलगायतको उपस्थिति थियो। सम्मेलनमा तामाङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, विश्वविद्यालयका विभागीय प्रमुख तथा तामयीग भाषा अध्ययनरत विद्यार्थी सहभागी छन्।
मातृभाषालाई शिक्षाको मूलधारमा जोड्नुपर्नेमा जोड
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले स्थानीय तहले तामाङ भाषा, संस्कृति र परम्पराको संरक्षणमा अग्रसर भूमिका खेल्नुपर्ने बताए। गाउँपालिकाभित्र रहेका १७ गुम्बासहित स्थानीय सांस्कृतिक तथा धार्मिक संस्थाहरूले भाषा र संस्कृतिको संरक्षणमा योगदान पुर्याउन सक्ने उल्लेख गर्दै उनले सम्मेलन व्यवस्थापनमा गाउँपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ विश्वविद्यालयका सल्लाहकार प्रा. डा. टीकाराम पौडेलले विदेशी भाषाको अध्ययन र प्रयोग बढ्दै जाँदा मातृभाषा ओझेलमा पर्न नदिन आफ्नै भाषाको अध्ययन, अनुसन्धान र प्रवर्द्धन आवश्यक रहेको बताए। यही उद्देश्यअनुरूप विश्वविद्यालयमा तामयीग भाषा अध्ययन सुरु गरिएको उनको भनाइ थियो।
उनका अनुसार तामयीग भाषा अध्ययनको पहिलो सत्रका विद्यार्थी उत्तीर्ण भइसकेका छन्। दोस्रो सत्रको अध्ययनलाई प्रभावकारी बनाउने, सिकाइका अनुभव आदानप्रदान गर्ने र भाषाको शैक्षिक विकासका सम्भावनाबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
उनले कोशी प्रदेशमा लिम्बू तथा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाको अध्ययन–अध्यापन भइरहेको जानकारी दिँदै मातृभाषा शिक्षाको विकासका लागि शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
‘तामयीग भाषा अध्ययन ऐतिहासिक उपलब्धि’
नेपाल तामाङ घेदुङका पूर्वमहासचिव सोम घले तामाङले काठमाडौँ विश्वविद्यालयमा तामयीग भाषा अध्ययन सुरु हुनुलाई तामाङ समुदायको लामो भाषिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। मातृभाषालाई शैक्षिक क्षेत्रमा स्थापित गर्न समुदाय, विश्वविद्यालय, सरकार र सम्बन्धित निकायबीच निरन्तर सहकार्य हुनुपर्नेमा उनले जोड दिए।
काठमाडौँ विश्वविद्यालयका डिन बालकृष्ण बल तामाङले तामयीग भाषाको संरक्षण तथा प्रवर्द्धनमा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। भाषाका शब्दहरू कम्प्युटर प्रणालीमा समावेश गर्ने काम भइरहेको उल्लेख गर्दै उनले प्रविधिको सहायताले भाषाको अभिलेखीकरण, अध्ययन, अनुसन्धान तथा विश्वव्यापी पहुँच विस्तार गर्न सकिने बताए।
उनका अनुसार भाषालाई आधुनिक प्रविधिसँग जोड्न सके यसको प्रयोग र सिकाइलाई सहज बनाउन सकिन्छ। यसले नयाँ पुस्तालाई मातृभाषासँग जोड्न तथा भाषिक सम्पदालाई दीर्घकालसम्म सुरक्षित राख्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
भाषा संरक्षणमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता
सम्मेलनका प्रमुख अतिथि बागमती प्रदेशका बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङले तामयीग भाषा अध्ययन सुरु भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनले भाषाको शैक्षिक विकास, पुस्तान्तरण र संस्थागत विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मातृभाषाको संरक्षण भाषण र औपचारिक कार्यक्रममै सीमित नराखी दैनिक व्यवहारमा प्रयोग तथा सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उनले भाषा संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
उद्घाटन सत्रको समापन गर्दै अध्यक्ष सरोजमोहन मोक्तानले मातृभाषाको संरक्षण, विकास र शैक्षिक विस्तारका लागि सम्मेलन महत्त्वपूर्ण अवसर भएको बताए।
भाषा शिक्षाको भविष्यबारे तीन दिनसम्म विमर्श
सम्मेलनका भाषा समन्वय प्रमुख बिलाम मुक्तानका अनुसार तीनदिने सम्मेलनमा तामयीग भाषा शिक्षा, मातृभाषाको अध्ययन–अध्यापन, भाषिक अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनका विविध पक्षमा छलफल हुनेछ।
सम्मेलनले तामयीग भाषाको शैक्षिक विकासका लागि आवश्यक रणनीति पहिचान गर्नुका साथै पुस्तान्तरण, संस्थागत सहकार्य र प्रविधिमा आधारित भाषा संरक्षणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
मातृभाषा कुनै समुदायको संवादको माध्यम मात्र नभई इतिहास, संस्कृति, ज्ञान र सामूहिक पहिचानको वाहकसमेत हो। त्यसैले तामयीग भाषालाई शिक्षा र प्रविधिसँग जोड्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयासलाई सम्मेलनले थप गति दिने आयोजकको विश्वास छ।









Comment