काठमाडौं । लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएका अभियन्ता सुनिलबाबु पन्तद्वारा लिखित पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रममा नेतृ डा.विन्दा पाण्डेले संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान स्थापित गर्न पन्तको महत्त्वपूर्ण योगदान रहेको बताइन्।
उनले संविधानसभामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका विषयमा गहन छलफल भएको स्मरण गर्दै पन्तको सक्रियताबिना संविधानमा उक्त विषय समेटिन कठिन हुने बताइन्।
‘संविधानमा सुनिलजी हुनुहुन्नथ्यो भने त त्यो लेख्दै लेखिँदैनथ्यो, हन्ड्रेड पर्सेन्ट ग्यारेन्टी गर्छु,’ उनले भनिन्, ‘संविधानमा पहिचान लेखिसकेपछि अहिले आम नागरिकमाझ त्यसलाई कसरी लैजाने भन्ने हिसाबले यो किताब आउनु एकदमै राम्रो कुरा हो।’
उनले नेपाली समाजमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
पूर्वीय दर्शनमा तेस्रो प्रकृतिसम्बन्धी विषयलाई सकारात्मक रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले आधुनिक शिक्षा प्रणालीमा आफ्नै समाजका ऐतिहासिक र सांस्कृतिक पक्षलाई पनि समेट्नुपर्ने बताइन्।
कार्यक्रममा पुस्तकका लेखक पन्तले पुस्तकमा भएका कमीकमजोरीबारे खुलेर प्रतिक्रिया दिन आग्रह गरे। उनले पाठकबाट प्राप्त सुझावले आगामी संस्करणलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने बताए।
‘अलि औपचारिकता छाडेर व्यक्तिगत हिसाबले तीतामीठा प्रतिक्रियाहरू दिनुहोला, ताकि अर्को संस्करण अथवा अरु विषय लेख्दा कमजोरीहरू कम होऊन् भन्ने आशा गर्न सकिन्छ,’ उनले भने।
पन्तले पुस्तक प्रकाशन गरेको शिखा बुक्स, सम्पादनमा सहयोग गर्ने सुशील रिजाल तथा यस अभियानमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई धन्यवाद दिए।
उनले संविधानसभाका तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ, डा. विन्दा पाण्डेलगायतको सहयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको संवैधानिक पहिचान स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
उनका अनुसार पुस्तकले लैङ्गिकता, यौनिकता र मानव प्रकृतिसम्बन्धी विषयलाई बुझ्न सहयोग गर्नेछ । विशेषगरी शिक्षा क्षेत्रका शिक्षक, प्रशिक्षक, नीतिनिर्माता तथा आम नागरिकका लागि पुस्तक उपयोगी स्रोत बन्न सक्ने उनको विश्वास छ ।
पन्तले नेपाली समाजका देवी, पुराण, चाडपर्व तथा ऐतिहासिक पात्रहरूलाई महिला अधिकार र मानव विकासका दृष्टिकोणबाट अध्ययन गर्नुपर्नेमा पनि जोड दिए। पश्चिमी दर्शन र सिद्धान्तको चर्चा गर्दा नेपाली समाजका आफ्नै ऐतिहासिक तथा सांस्कृतिक योगदानलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।
उनले ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ शीर्षकको वृत्तचित्रसमेत निर्माण गरिसकेको जानकारी दिँदै आगामी दिनमा मातृसांस्कृतिक दृष्टिकोणबाट महिला, समाज र मानवतालाई बुझ्ने विषयमा अर्को पुस्तक ल्याउने तयारी रहेको बताए।
पन्तले पुस्तकको अंग्रेजी संस्करणसमेत तयार पार्ने योजना रहेको उल्लेख गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैङ्गिकता र यौनिकतासम्बन्धी अध्ययनका लागि उपयोगी स्रोतका रूपमा विकास गर्न सकिने बताए।









Comment