काठमाडौं। नयाँ पुस्तालाई आफ्नो मातृभाषा, संस्कार र संस्कृतिसँग जोड्ने उद्देश्यसहित टोखा नगरपालिका–१, झोरस्थित महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु गरिएको छ।
तामाङ भाषा, लिपि र सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्ने लक्ष्यसहित शुक्रबार आयोजित कार्यक्रममा भाषा पठनपाठनको शुभारम्भ गर्नुका साथै शुभकामना आदानप्रदान र विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षता तथा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, टोखा नगरपालिका–७ का वडाध्यक्ष नरोत्तम राना, नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तान, घेदुङका ऊर्जा तथा वातावरण विभाग प्रमुख शशिकर लामा, विभिन्न तहका प्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।
कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले भाषा, संस्कार र संस्कृति हरेक समुदायका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मातृभाषाको संरक्षण सबैको साझा दायित्व भएको बताए। कुनै पनि सकारात्मक कामको सुरुवात आफैँमा महत्त्वपूर्ण हुने भन्दै उनले भाषा शिक्षणको यो पहललाई निरन्तरता दिएर निर्धारित लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले मातृभाषा समुदायको पहिचानको प्रमुख आधार भएको बताए। नयाँ पुस्ताले मातृभाषा बोल्ने अभ्यास घटाउँदै जानु र मौलिक भाषा लोप हुने जोखिम बढ्नु चिन्ताको विषय भएको उनको भनाइ थियो। विद्यालयमा तामाङ भाषा पठनपाठन सुरु हुनुलाई भाषा संरक्षणको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्दै उनले बालबालिकालाई सानैदेखि मातृभाषा सिक्ने र दैनिक जीवनमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए।
नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव एवं भाषा समन्वय प्रमुख बिलाम मुक्तानले मातृभाषा शिक्षालाई घरपरिवार र समुदायसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे। भाषा सिकाइमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले विद्यालयमा तामाङ भाषा शिक्षिकाका रूपमा कार्यरत शान्त तामाङको योगदानको प्रशंसा गरे।
“बच्चाले सबैभन्दा पहिले आमाबाट भाषा सिक्छ। त्यसैले भाषा पढाउने शिक्षिका शान्त तामाङ यस विद्यालयकी आमा हुनुहुन्छ। उहाँले विद्यार्थीलाई तामाङ भाषा सिकाउनु भनेको आफ्ना सन्तानलाई मातृभाषा सिकाएजस्तै हो,” मुक्तानले भने, “भाषा सिकाउनु भनेको शब्द र वाक्य सिकाउनु मात्र होइन, आफ्नो पहिचान, इतिहास, संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो।”
उनले नेपाल तामाङ घेदुङले तामाङ भाषा, लिपि र मातृभाषामा शिक्षाको विस्तारका लागि लामो समयदेखि अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।
तामाङ भाषा शिक्षिका शान्त तामाङले मातृभाषा बोल्न छोड्नु आफ्नै संस्कार र संस्कृति बिर्सनुसरह भएको बताइन्। मातृभाषाप्रतिको जिम्मेवारीबोधले आफू भाषा सिक्ने र सिकाउने अभियानमा संलग्न भएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई आफ्नै भाषामा बोल्न, पढ्न र लेख्न सक्षम बनाउने उद्देश्यले अध्यापन गराउने बताइन्। भाषा संरक्षणको अभियानमा सहयोग र सहजीकरण गरेकोमा उनले नेपाल तामाङ घेदुङप्रति आभार व्यक्त गरिन्।
कार्यक्रमकै अवसरमा टोखा नगरपालिका–७ को सौजन्यमा विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको थियो। शैक्षिक सामग्रीले विद्यार्थीलाई अध्ययनप्रति प्रोत्साहित गर्नुका साथै विद्यालयका शैक्षिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले मातृभाषामा शिक्षा प्रदान गर्दा बालबालिकाले आफ्नो मौलिक पहिचान, इतिहास र सांस्कृतिक सम्पदाबारे ज्ञान हासिल गर्न सक्ने धारणा राखे। मातृभाषाले बालबालिकाको समुदायसँगको सम्बन्धलाई बलियो बनाउनुका साथै सांस्कृतिक निरन्तरतामा समेत योगदान पुर्याउने उनीहरूको भनाइ थियो। भाषा संरक्षणलाई विद्यालयको कक्षाकोठामा मात्र सीमित नराखी घरपरिवार, समुदाय र दैनिक व्यवहारमा समेत प्रयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।
महाँकाल माध्यमिक विद्यालयमा तामाङ भाषा पठनपाठनको सुरुवातसँगै स्थानीयस्तरमा मातृभाषा संरक्षणको नयाँ पहल अघि बढेको छ। यसको प्रभावकारिता र निरन्तरताका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा नेपाल तामाङ घेदुङबीच सहकार्य आवश्यक देखिएको छ। विद्यालयको पठनपाठनसँगै घर र समुदायमा पनि मातृभाषाको प्रयोग विस्तार गर्न सके तामाङ भाषा, संस्कृति र सामुदायिक पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









Comment