काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकामा गरिएको खोजीमा कोही पनि फेला परेका छैनन्। सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार इन्जिनियर र ड्रोनसहितको नेपाली सेनाको टोलीले सुरुङको भित्री भागमा प्रवेश गरी विस्तृत रूपमा खोजी गरेको थियो। सुरुङको अन्तिम भागसम्म पुग्दा समेत कुनै व्यक्ति फेला नपरेको जनाइएको छ।
भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र केही व्यक्ति फसेको हुन सक्ने आशंका गरिएको थियो। सोही आधारमा उद्धार टोलीले जोखिमको आकलन गर्दै विशेष सावधानी अपनाएर सुरुङभित्र खोजी तथा निरीक्षण अघि बढाएको थियो। लामो समयसम्म गरिएको खोजीका क्रममा सुरुङभित्र कोही नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली धुन्चेतर्फ फर्किएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजना, सुरुङ तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि सम्भावित मानवीय क्षतिको खोजीका लागि सुरक्षा निकायले उद्धार तथा खोजी अभियानलाई निरन्तरता दिइरहेका छन्।





Comment