काठमाडौं । भारतबाट आएको प्राविधिक तथा टनेल रेस्क्यु (सुरुङ उद्धार) टोली चिलिमे पुगेको छ । भारतबाट उध्दार टोली हिजो आएको थियो । आज चिलिमे पुगेर खटिएको छ । रसुवाको चिलिमे र त्रिशूली क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारहरूको खोज तथा उद्धारका लागि रेस्क्यु टोली नेपाल आएको हो ।
टोलीमा भारतका डाक्टर, प्यारामेडिक्स र सुरुङ इन्जिनियरहरू रहेको ११ सदस्यीय प्राविधिक रहेका छन् । अर्को २२ सदस्यीय भारतीय सेनाको टोली पनि उद्धार कार्यका लागि परिचालन गरिएको छ ।
प्रारम्भिक टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) गरिसकेको छ । यससँगै नुवाकोटको त्रिशूली र रसुवाको चिलिमे क्षेत्रमा केन्द्रित भई काम सुरु गरेको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण चिलिमे लगायतका जलविद्युत् आयोजनाका सुरुङहरूमा बाक्लो लेदो, हिलो र ढुंगामाटो (स्लज) भरिएकाले भित्र प्रवेश गर्न निकै कठिन भइरहेको छ ।
भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरेर अत्याधुनिक उपकरणको सहयोगमा सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने कार्य सुरु गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढी र पहिरोका कारण चिलिमे जलविद्युत् आयोजना ९२२।१ मेगावाट० मा ठूलो क्षति पुगेको छ । बाढी र पहिरोका कारण चिलिमे जलविद्युत् आयोजनाका करिब २० जना कर्मचारी तथा कामदारहरू सम्पर्कविहीन भएको विवरण छ ।
आयोजनाको पावरहाउस र सुरुङ (टनेल) भित्र ६ देखि ८ जना कर्मचारीहरू फसेका छन्, जसको उद्धारका लागि भारतीय र नेपाली संयुक्त टोली खटिएको छ । बाढीको लेदो र पहिरोको ढुंगाामाटोले चिलिमे जलविद्युत् आयोजनाको संरचनाहरू पूर्ण रूपमा पुरिएका छन् ।
आयोजनाको सुरुङ मार्गमा बाक्लो लेदो र हिलो भरिएको छ । भौतिक संरचनामा गम्भीर क्षति पुगेसँगै चिलिमेबाट हुने २२।१ मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । चिलिमे लगायतका आयोजनाहरू जोडिएको त्रिशूली–३ ‘बी’ हबकोसबस्टेसनमा बाढीले क्षति पुर्याउँदा त्यस क्षेत्रको विद्युत् प्रसारण प्रणाली नै अवरुद्ध भएको छ ।
उद्धार टोलीसँगै भारत सरकारले पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट र औषधि सहितको राहत सामग्री समेत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।





Comment