रसुवाको बाढीको असर नेप्सेमा, जलविद्युत कम्पनीको शेयरमा पहिरो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रसुवाको बाढीको असर नेप्सेमा, जलविद्युत कम्पनीको शेयरमा पहिरो



काठमाडाैं । रसुवामा आएको आकस्मिक बाढीको प्रभाव बुधबारको शेयर बजारमा देखिएको छ। बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको समाचार सार्वजनिक भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरूको शेयरमूल्यमा उच्च गिरावट आएको हो।

बुधबार रसुवागढी हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। त्यस्तै, त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ। माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घट्दा साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्यमा पनि ११ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

यस दिन नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०० अंक, फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंकले घटेका छन्।

सूचक घटे पनि बुधबार कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३४८ स्टकको ६१ हजार ४४२ पटकको कारोबारमा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।

बुधबार सर्वोत्तम पेन्ट्सको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य १५८ रुपैयाँ २० पैसा बढेर १ हजार २१२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य पनि करिब साढे १० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २० करोड ५६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १९ करोड रुपैयाँको शेयर किनबेच हुँदा साहस उर्जाको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९० प्रतिशतले घटेको छ। जलविद्युत उपसमूहको परिसूचक पनि करिब ३ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित : 26 August, 2026 3:24 pm