रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिसाङका पहिरो प्रभावित ८८ घरधुरीलाई राहत सामग्री वितरण



जाजरकोट । यही साउन ३० गते भएको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङका विभिन्न गाउँमा गएको पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । पहिरोमा परी चार जनाको दुःखद निधन भएको थियो भने तीन जना गम्भीर घाइतेको नेपालगन्ज र काठमाडौंमा उपचार भइरहेको छ। पहिरो तथा जमिन भासिने क्रमका कारण चौपाया र बालीनालीमा समेत व्यापक क्षति पुगेको छ । पहिरोका कारण प्रभावित क्षेत्रका घरआँगनमा समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट गएको भूगर्भविद्सहितको अध्ययन टोलीले समेत पहिरो प्रभावित क्षेत्र मानव बसोबासका लागि जोखिमयुक्त रहेको जानकारी दिएको थियो । यसैबीच, पहाडी क्षेत्र विकास अभियान (एचआरडीसी) जाजरकोटको समन्वयमा केयर नेपाल र मानवीय सहायता साझेदारी मञ्च (एचपीपी)को सहयोगमा प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केयर नेपालका प्रतिनिधि कालिदास जोशी, पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदीपजंग शाह तथा वडा नं.२ का अध्यक्ष भीमबहादुर कार्कीको उपस्थितिमा ८८ घरधुरीलाई राहत सामग्री वितरण गरिएको थियो ।

प्रभावित प्रत्येक घरधुरीलाई करिब २५ हजार १७४ रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ । कुल २२ लाख १५ हजार ३२० रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । राहतमा स्वच्छता किट, सोलार किट, पानी किट, भान्सा किट र पी–फर्मलगायत ४१ प्रकारका सामग्री समावेश छन् ।

पहिरोबाट विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदा केही राहत पुगेको स्थानीयले बताएका छन् । विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पु¥याउने यस मानवीय कार्यमा सहयोग गर्ने सबै संस्था, व्यक्ति तथा सरोकारवालाप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

प्रकाशित : 26 August, 2026 11:27 am