नेपालीको पहिचान र गौरवसँग जोडिएको खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालीको पहिचान र गौरवसँग जोडिएको खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ



सल्यान । नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत नेपाली खुकुरी निर्माण गर्ने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ।

सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौंदेखि परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।

परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको टहराले विक दम्पतीलाई खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित र व्यवस्थित कार्यस्थल उपलब्ध गराएको छ।

नेपाली खुकुरी केवल हतियारका रूपमा मात्र नभई नेपालीको मौलिक पहिचान, साहस, गौरव र शानसँग जोडिएको ऐतिहासिक सम्पदा हो। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको खुकुरी निर्माणको परम्परागत सीप पछिल्लो समय सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार तथा बजारको अभावका कारण संकटमा पर्दै गएको अवस्थामा वल्र्डलिंकको सहयोगले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको लाभग्राही राजु विकले बताए।

खुकुरी निर्माणमा प्रयोग हुँदै आएको परम्परागत ज्ञान, सीप र प्रविधिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकताको संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्। उनीहरूका अनुसार यस्ता पहलले ‘सीप जोगाऔँ, परम्परा बचाऔँ र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाऔँ’ भन्ने उद्देश्यलाई समेत बल पुर्‍याउनेछ।

वल्र्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन तथा दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न CSR कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वल्र्डलिंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित पुस्तौंदेखिको खुकुरी निर्माण सीपलाई संरक्षण गर्दै स्थानीय व्यवसायलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासमा वल्र्डलिंकको यो पहल एउटा सानो तर अर्थपूर्ण कदम बनेको छ।

प्रकाशित : 19 August, 2026 5:11 pm