अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो, ९६ करोड ६ लाख रुपैयाँ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो, ९६ करोड ६ लाख रुपैयाँ पुग्यो



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले खुद नाफा तथा आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ७५ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको खुद नाफा १३०.०६ प्रतिशतले बढेको हो।

कम्पनीको विद्युत बिक्री तथा सञ्चालन आम्दानीसमेत बढेको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो।

ईपीएस १५ रुपैयाँ माथि

नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६.८७ रुपैयाँ रहेको वार्षिकीकृत ईपीएस बढेर समीक्षा अवधिमा १५.०६ रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११९.५१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) २१.३० गुणा रहेको छ।

सेयर लगानीबाट ४७ करोडभन्दा बढी आम्दानी

कम्पनीको खुद नाफा बढ्नुमा सञ्चालन आम्दानीसँगै अन्य लगानीबाट भएको लाभ अर्थात् Fair Value Gain को समेत महत्वपूर्ण भूमिका रहेको छ।

विवरणअनुसार कम्पनीले सेयर लगानीबाट मात्रै ४७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले इङ्वा हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको सेयरको बजार मूल्यका आधारमा उक्त मूल्यांकन गरेको जनाएको छ।

६ आयोजना सञ्चालनमा, थप ८ मेगावाटको आयोजना निर्माणाधीन

हाल अपि पावरले ६ वटा जलविद्युत तथा सौर्य आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगड गाड, ८ मेगावाटको अपर नौगड गाडसहित अन्य तीनवटा सौर्य आयोजना सञ्चालन गरिरहेको छ।

कम्पनीले थप विस्तारका क्रममा बारा जिल्लामा ८ मेगावाट क्षमताको परवानीपुर सौर्य आयोजना निर्माण गरिरहेको छ।

नौगड गाड आयोजनामा कर छुट

कम्पनीको ८.५ मेगावाट क्षमताको नौगड गाड जलविद्युत आयोजनाले २०८२ भदौ २ गतेदेखि व्यावसायिक उत्पादनको १० वर्ष पूरा गरेको छ।

आयकर ऐनअनुसार अब आगामी पाँच वर्षसम्म उक्त आयोजनाले आयकरमा ५० प्रतिशत छुट पाउनेछ। यसअनुसार आयोजनामा १२.५ प्रतिशत मात्र कर लाग्ने कम्पनीले जनाएको छ। कर छुटले आगामी दिनमा कम्पनीको नाफामा थप सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कम्पनीले आगामी आर्थिक वर्षमा अनुकूल मौसम अर्थात् Hydrological Conditions रहने अपेक्षा गरेको छ। अनुकूल मौसमका कारण विद्युत बिक्री आम्दानी अझै बढ्ने कम्पनीको प्रक्षेपण छ।

चौथो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २४ करोड रुपैयाँ सञ्चित रहेको छ।

सेयर बजारमा समेत अपि पावरको सेयर कारोबार सक्रिय रहेको छ।

प्रकाशित : 14 August, 2026 4:30 pm