काठमाडौं । सानिमा बैंक लिमिटेडले एक संस्थापक शेयरधनीको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनी सुधिर कुमार अग्रवालको स्वामित्वमा रहेको उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १२५ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिइने भएकाले हाल यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र नक्सालस्थित सानिमा बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
निर्धारित अवधिमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा बाँकी शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


Comment