ज्योति विकास बैंकको खुद नाफामा ९०५ प्रतिशतको उछाल, १ अर्बमाथि नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति विकास बैंकको खुद नाफामा ९०५ प्रतिशतको उछाल, १ अर्बमाथि नाफा



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै खुद नाफा, सञ्चालन मुनाफा तथा अन्य प्रमुख सूचकहरूमा बलियो वृद्धि हासिल गरेको छ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म बैंकले १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ करोड २० हजार रुपैयाँको तुलनामा ९०५.७५ प्रतिशतले बढी हो।

बैंकको खुद ब्याज आम्दानी पनि ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ रहेको थियो।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशतले वृद्धि भई २ अर्ब ८१ करोड ३५ लाख ६६ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ४७ करोड ६ लाख ४४ हजार रुपैयाँ थियो।

सञ्चालन मुनाफामा अझ ठूलो सुधार देखिएको छ। बैंकको सञ्चालन मुनाफा ३६०.१४ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ३८ करोड ९८ लाख २१ हजार रुपैयाँ मात्र थियो।

बैंकको वितरणयोग्य मुनाफा पनि सकारात्मक अवस्थामा फर्किएको छ। समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भने यो ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

सम्पत्ति गुणस्तरतर्फ पनि सुधार देखिएको छ। बैंकको निष्क्रिय कर्जा (NPL) अघिल्लो वर्षको ७.७५ प्रतिशतबाट घटेर ६.५५ प्रतिशतमा झरेको छ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी (EPS) २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ रहेको छ भने पीई रेसियो १४.८२ गुणा कायम भएको छ।

प्रकाशित : 6 August, 2026 1:08 pm