अन्तरसम्बन्ध विस्तारका लागि घेदुङद्वारा तामाङ संघसंस्थाबीच अन्तरसंवाद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अन्तरसम्बन्ध विस्तारका लागि घेदुङद्वारा तामाङ संघसंस्थाबीच अन्तरसंवाद



काठमाडौं । सिंगो तामाङ समुदायको साझा मातृ अभिभावक संस्था नेपाल तामाङ घेदुङले तामाङ समुदायमा क्रियाशील विभिन्न संघसंस्थाबीच अन्तरसम्बन्ध विस्तार गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

संघीय राजधानी काठमाडौंको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रम घेदुङका नव निर्वाचित संघीय अध्यक्ष रामकृष्ण ब्लोन–तामाङको अध्यक्षतामा भएको हो । गत जेठ १, २ र ३ गते काठमाडौंमा सम्पन्न दशौं संघीय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा तामाङ समुदायमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरूलाई घेदुङका वरिष्ठ उपाध्यक्ष सञ्चु ब्लोनले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । भाषा, संस्कार, संस्कृति, पहिचान, ज्ञान, इतिहास तथा समुदायको समग्र हित र संरक्षण–प्रवर्द्धनका लागि क्रियाशील तामाङ संघसंस्थाहरूबीचको सम्बन्ध, सहकार्य र भावी कार्यदिशाबारे सहभागीहरूले महत्वपूर्ण सुझाव तथा धारणा राखेका थिए ।


कार्यक्रममा सहभागी मानवशास्त्री तथा तामाङ अध्यक्ष केन्द्रका अध्यक्ष डा. मुक्तसिंह तामाङले नेपाल तामाङ घेदुङ तामाङ समुदायको साझा मातृ संस्था भएको बताउनुभयो । विभिन्न विचार, दर्शन, क्षेत्र, ह्रुई तथा वंशबाट आएका तामाङहरू घेदुङभित्र समेटिएको उल्लेख गर्दै उहाँले सबै संघसंस्थाले आ–आफ्नो क्षेत्रबाट घेदुङसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।


तामाङ समाजको ज्ञान, पहिचान, इतिहास, वर्तमान र भविष्यबारे तामाङ दृष्टिकोणबाट गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ने बताउँदै डा. तामाङले तामाङहरू विस्थापित हुनुका कारण, भूगोल तथा सामाजिक इतिहासको खोजी गर्नुपर्ने सुझाव दिनुभयो । साथै, समयसापेक्ष नारा, स्लोगन र एजेन्डासहित घेदुङलाई थप प्रभावकारी र आकर्षक बनाउँदै समुदायको नेतृत्वदायी संस्थाका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
ब्लोन समाजका प्रतिनिधि तथा घेदुङका पूर्व महासचिव कुमार ब्लोनले राजनीतिक विषयभन्दा समुदायका मुद्दालाई प्राथमिकतामा राखेर घेदुङ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी ज्याम्याङ लामा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा घेदुङकी पूर्व उपाध्यक्ष सीता गोलेले तामाङ ह्वाईबाट आफ्नो धारणा राख्दै घेदुङलगायत तामाङ संघसंस्थाले अबदेखि आफ्ना कार्यक्रम तथा गतिविधिमा तामाङ मातृभाषाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ‘कुरा मात्र गरेर होइन, काम गरेर देखाउनुपर्ने’मा जोड दिँदै उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो ।


घिसिङ समाजका चोहो एलबी घिसिङले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै घेदुङमा राजनीतिक प्रभाव बढेको हो कि भन्ने प्रश्न उठाउँदै अब पहिचान, भाषा, संस्कृति र समुदायका मुद्दामा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । घेदुङले यस्ता कार्यक्रमको नेतृत्व गर्नुपर्ने तथा सबैलाई आकर्षित गर्ने गरी घेदुङको कार्यालयलाई थप व्यवस्थित र परिचित बनाउनुपर्ने उहाँको सुझाव थियो ।


कार्यक्रममा नेपाल तामाङ कलाकार संघका महासचिव खेम मोक्तानले कलाकार संघले संस्कार, संस्कृति र भाषा संरक्षणका क्षेत्रमा घेदुङसँग सहकार्य गर्दै आएको बताउँदै आगामी कार्यकालमा अझ व्यापक र खुला सहकार्यका लागि आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङले संस्थागत परिचय प्रस्तुत गर्दै घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा तामाङ डाजाङका अध्यक्ष फुलकुमार बमजन, ओम सुखदुःख तामाङ गुठीका प्रतिनिधि सुरज बज्यू, ताम्बा संघ नेपालका अध्यक्ष धावा वाङ्गेल मोक्तान, सामाखुसी तामाङ परिवार कोषका प्रतिनिधि बाबुराम लोप्चन, गोले वंश समाजका मीनप्रसाद गोले, छ्योर्तेन टासी गुम्बाका अध्यक्ष हरिबहादुर बल तामाङ, फर्सीडोल तामाङ समाजका अध्यक्ष तुलबहादुर तामाङ, ग्लान वंश नेपालका संयोजक अर्जुनबहादुर तामाङ, थिङ समाजका अध्यक्ष कमल थिङ, निर्माता केबी घिसिङ, लो समाजका योगेन्द्र लो तामाङ तथा रुबी भ्यालीबाट सहभागी मंगा माम्बालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सुझावसहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नव नियुक्त घेदुङका सूचना संचार तथा प्रकाशन विभाग प्रमुख एवं केन्द्रीय सदस्य युनिकरक्षे ग्लान-तामाङका अनुसार कार्यक्रमका सभाध्यक्ष तथा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन–तामाङले सहभागीहरूबाट प्राप्त सकारात्मक सुझावलाई सहर्ष स्वीकार गर्दै घेदुङलाई तामाङ समुदायबीच अझ विस्तार र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा थप ऊर्जा र उत्साहका साथ तामाङ समुदायको हितमा काम गर्ने बताउँदै भाषा, संस्कार, संस्कृति, पहिचान तथा तामाङ समुदायका हकहितका विषयमा सबै संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सञ्चालन नेपाल तामाङ घेदुङका महासचिव लिलाकुमार ग्लान–तामाङले गर्नुभएको थियो ।

प्रकाशित : 26 July, 2026 6:48 pm