प्रधानमन्त्रीले पुँजी बजारका सरोकारवालासँग विशेष छलफल गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रधानमन्त्रीले पुँजी बजारका सरोकारवालासँग विशेष छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र व्यवसायी तथा लगानीकर्ता प्रतिनिधिसँग पुँजी बजारको वर्तमान अवस्था र सुधारका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा सेबोनका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी सहभागी हुनेछन्।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य तथा सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेल, नासा सेक्युरिटिजका सन्दीप जलान, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ तथा नेपाल लाइफ क्यापिटलका फण्ड म्यानेजर नवराज सिलवाल पनि बैठकमा सहभागी रहनेछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको सुदृढीकरण, नीतिगत तथा संरचनागत सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि र समग्र राष्ट्रिय अर्थतन्त्रमा पुँजी बजारको भूमिकाबारे विस्तृत छलफल हुनेछ।

पुँजी बजार सुधारका विषयमा सरकारले सरोकारवालाको सुझाव संकलन गरी आवश्यक नीतिगत निर्णयका लागि आधार तयार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।

प्रकाशित : 20 July, 2026 11:48 am