सिद्धार्थ बैंकद्वारा भ्रामक सामग्रीप्रति आपत्ति, सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकद्वारा भ्रामक सामग्रीप्रति आपत्ति, सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह



काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मनिग्राम शाखासँग सम्बन्धित कर्जा प्रवाह तथा असुली प्रक्रियाबारे सामाजिक सञ्जाल, अनलाइन मिडिया र पत्रकार सम्मेलनमार्फत प्रसारित सामग्री भ्रामक रहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा दिलिप सिंह ओली नामका व्यक्ति बैंकका निक्षेपकर्ता वा ऋणी ग्राहक नभएको उल्लेख गर्दै केही व्यक्तिले बैंक व्यवस्थापन तथा विभिन्न तहमा कार्यरत कर्मचारीमाथि आधारहीन आरोप लगाएर बैंक तथा समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामा आँच पुर्‍याउने उद्देश्यले भ्रामक सामग्री प्रचार–प्रसार गरेको दाबी गरेको छ।

बैंकका अनुसार कर्जा प्रवाह तथा असुली प्रक्रिया प्रचलित कानुन र नियमअनुसार नै हुँदै आएको छ। विज्ञप्तिमा उल्लेख गरिएका केही ऋणीको कर्जा अनियमित भएपछि बैंकले कानुनी प्रक्रिया अनुसार असुली अघि बढाएको र त्यसपछि बैंक तथा कर्मचारीको मानमर्दन हुने गरी भिडियो तथा अन्य प्रचार सामग्री सार्वजनिक गरिएको जनाएको छ।

त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको दाबी गर्दै बैंकले सर्वसाधारणलाई भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

साथै, बैंकले आफ्नो सेवा वा कर्जासम्बन्धी कुनै गुनासो भएमा बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्रमा उजुरी दिन, त्यसबाट पनि समाधान नभए नेपाल राष्ट्र बैंक को गुनासो सुनुवाइ इकाइ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार उपचार खोज्न सकिने जनाएको छ।

बैंकले सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षलाई बैंकसम्बन्धी भिडियो, समाचार वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्नुअघि सत्यतथ्य पुष्टि गरी बैंकको आधिकारिक धारणा लिएर मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ।

प्रकाशित : 8 July, 2026 2:25 pm