काठमाडौं । गुणाकर भट्टले सरकारले लक्ष्यअनुसार ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दिशामा काम गरिरहेको बताएका छन्।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टले सोमबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताए।
उनले वर्तमान सरकारले सरकारी, निजी र सहकारी क्षेत्रलाई सँगै लिएर आर्थिक सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन साना किसानको भूमिका महत्वपूर्ण रहेको बताए।
भट्टले साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राख्दै वास्तविक किसानसम्म पुगेर प्रभावकारी रूपमा काम गर्न सक्ने संस्थाको रूपमा यसले आफ्नो क्षमता प्रमाणित गरिसकेको बताए। उनका अनुसार साना किसानको उत्थानमार्फत मात्रै गरिबी न्यूनीकरण तथा आर्थिक–सामाजिक रूपान्तरण सम्भव हुने भएकाले सरकारले यस क्षेत्रमा विशेष कार्यक्रम अघि बढाउनेछ।
उनले ठूला पूर्वाधार आयोजना र साना उद्यमलाई समानान्तर रूपमा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्दै समावेशी सहभागितामा आधारित साना किसान कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने बताए।
कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका कार्यक्रम कार्यान्वयनमा साना किसान अभियान निरन्तर सहकार्य गर्दै आएको बताए। उनले किसानको उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उत्पादन मात्रले आर्थिक समृद्धि सम्भव नहुने भएकाले बजार व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाले महिला, युवा, दलित, जनजाति तथा पछाडि परेका समुदायलाई कृषि उत्पादनमार्फत आर्थिक मूलधारमा जोड्ने काम गरिरहेको जानकारी दिए। उनले विश्व अर्थतन्त्रको प्रभाव नेपाली अर्थतन्त्र र बैंक तथा वित्तीय क्षेत्रमा पनि परेको उल्लेख गर्दै त्यसबाट उकासिन साना तथा लघु उद्यमको प्रवर्द्धन आवश्यक रहेको बताए।
वार्षिकोत्सवका अवसरमा संस्थाले उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा तथा साझेदार संस्थालाई नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको थियो।






Comment