किनमेलका लागि बढी घुम्छन् नेपाली, आन्तरिक पर्यटनमा ५१ अर्बभन्दा बढी खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

किनमेलका लागि बढी घुम्छन् नेपाली, आन्तरिक पर्यटनमा ५१ अर्बभन्दा बढी खर्च



काठमाडौं । नेपालमा आधाभन्दा बढी घरपरिवार कुनै न कुनै रूपमा आन्तरिक पर्यटनमा सहभागी भएको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार देशका ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवारले सर्वेक्षण अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ।

सर्वेक्षणअनुसार अधिकांश नेपालीले आन्तरिक भ्रमणको मुख्य उद्देश्य किनमेल रहेको बताएका छन्। त्यसपछि स्वास्थ्य उपचार, साथीभाइ तथा आफन्त भेटघाट प्रमुख कारणका रूपमा देखिएका छन्। रात बिताएर गरिने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षमा औसत ४.५१ पटक भ्रमण गर्ने गरेको पाइएको छ।

गन्तव्यका हिसाबले काठमाडौं, ललितपुर र काभ्रे सबैभन्दा लोकप्रिय जिल्ला बनेका छन्। मनोरञ्जन तथा बिदा मनाउने उद्देश्यले भने काभ्रे प्रमुख गन्तव्यका रूपमा देखिएको प्रतिवेदनमा उल्लेख छ।

सर्वेक्षणले नेपालीहरूको बाह्य (आउटबाउन्ड) पर्यटन पनि उल्लेखनीय रहेको देखाएको छ। सर्वेक्षण अवधिमा करिब २ लाख ३२ हजार नेपालीले रात बिताएर तथा ६ लाख २० हजार ले सोही दिन फर्किने गरी विदेश भ्रमण गरेका छन्। बाह्य भ्रमणको प्रमुख उद्देश्य पनि किनमेल रहेको पाइएको छ।

पर्यटनमा नेपाली घरपरिवारले सर्वेक्षण अवधिमा ५१ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक पर्यटनमा ३५ अर्ब ६२ करोड रुपैयाँ र बाह्य पर्यटनमा ६२ अर्बभन्दा बढी रुपैयाँ खर्च भएको तथ्याङ्कमा उल्लेख छ। स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा सबैभन्दा बढी खर्च हुने गरेको देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पर्यटन स्याटेलाइट लेखाको प्रारम्भिक अनुमानअनुसार आन्तरिक पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा करिब २.६५ प्रतिशत योगदान पुर्‍याएको छ। कार्यालयले यो सर्वेक्षणले पर्यटन क्षेत्रको आर्थिक तथा सामाजिक योगदान मापन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने जनाएको छ।

प्रकाशित : 2 July, 2026 4:29 pm