काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्री प्रयोग भइरहेको भेटिएपछि सञ्चालक कम्पनीलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ। सरकारी कर्मचारी, सेवाग्राही र उच्च पदस्थ अधिकारीहरूले दैनिक रूपमा प्रयोग गर्ने क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र प्रयोग गर्न अयोग्य अन्डा फेला परेपछि अनुगमन टोलीले सामग्री नष्ट गर्नुका साथै कारबाही गरेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’ मा आकस्मिक निरीक्षण गर्दा गम्भीर कैफियत फेला पारेको जनाएको छ।
अनुगमनका क्रममा क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग तथा भण्डारण गरेको पाइएको थियो। टोलीले स्टोरबाट १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको बदाम तथा प्रयोग गर्न अयोग्य अवस्थामा रहेका १४ वटा फुटेका अन्डा बरामद गरेको थियो।
करिब ६ हजार ५ सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा गुणस्तरहीन सामग्रीलाई तत्काल नियन्त्रणमा लिएर नष्ट गरिएको विभागले जनाएको छ।
विभागका अनुसार क्याफेले अखाद्य तथा म्याद नाघेका वस्तु प्रयोग गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको हो।
यसैबीच, भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा सञ्चालित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ मा गरिएको अनुगमनका क्रममा खरिद बिल नराखिएको र उपभोक्ता संरक्षण ऐनअनुसारका प्रक्रिया पूरा नगरेको पाइएको विभागले जनाएको छ। सोही कारण उक्त उद्योगलाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ।
शुक्रबारको बजार अनुगमनका क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका अन्य १० वटा फर्मसमेत निरीक्षण गरिएको थियो। ती फर्ममा सामान्य प्रकृतिका प्राविधिक त्रुटि भेटिएकाले आवश्यक सुधार गर्न तथा कानुनी प्रावधान पालना गर्न निर्देशन दिइएको विभागले जनाएको छ।






Comment