सगरमाथा सफल आरोही सुधिज्ञ पन्त र साईत शर्मा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सगरमाथा सफल आरोही सुधिज्ञ पन्त र साईत शर्मा सम्मानित



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सफलतापूर्वक आरोहण गरी राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका पर्वतारोही सुधिज्ञ पन्त र साईत शर्मालाई आइसिएफसि फाइनान्स लिमिटेडले विशेष समारोहबीच सम्मान गरेको छ।

जेठ २५ मा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्यालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा संस्थाका कर्मचारी, सामाजिक अगुवा, व्यवसायी, परिवारजन तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मानित आरोहीद्वयलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै आयोजकले उनीहरुको साहस, समर्पण, दृढ इच्छाशक्ति, अनुशासन तथा कठिन परिस्थितिमा पनि लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गरे। यस्ता सफलताले नेपाली युवापुस्तामा आत्मविश्वास, देशप्रेम तथा उच्च लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।

सम्मानित आरोही सुधिज्ञ पन्त र साईत शर्माले आफ्नो आरोहण यात्राका अनुभव सुनाउँदै हिमाल चढ्ने क्रममा सामना गर्नुपरेका चुनौती, जोखिम तथा सफलताका क्षणहरूबारे जानकारी गराए। उनीहरुले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था, साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको शुभेच्छा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा वक्ताहरूले नेपाल सगरमाथाको देश भएकाले पर्वतीय पर्यटन, साहसिक खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा थप योगदान आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, नेपाली पर्वतारोहीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता प्रतिभाहरूलाई प्रोत्साहन र सम्मान गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

यस अवसरमा आइसिएफसि फाइनान्स लिमिटेडले भविष्यमा पनि खेलकुद, पर्यटन, सामाजिक तथा राष्ट्रिय गौरवका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित : 12 June, 2026 1:10 pm