काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा ई–कमर्स कारोबारलाई थप सुरक्षित बनाउन ३डी सेक्योर एसीएस (Access Control Server) सेवा सञ्चालनमा ल्याएको छ।
यस सेवाको सुरुआतसँगै राष्ट्रिय वाणिज्य बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले अनलाइन भुक्तानी तथा ई–कमर्स कारोबार अझ सुरक्षित रूपमा गर्न सक्ने बैंकले जनाएको छ।
३डी सेक्योर एसीएस समाधानले ई–कमर्स कारोबारका क्रममा ग्राहकको पहिचान तथा एकपटक प्रयोग हुने पासवर्ड (ओटीपी) प्रमाणीकरणमार्फत अतिरिक्त सुरक्षा प्रदान गर्नेछ। सेवा प्रयोग गर्न कार्डधारकले आफ्नो कार्डमा एकपटक फिचर सक्षम (इनएबल) गर्नुपर्ने व्यवस्था रहेको छ।
बैंकका अनुसार बढ्दो ई–कमर्स कारोबारलाई सुरक्षित बनाउँदै ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो।
एनसीएचएल–ईपीएस सेवा अन्तर्गत एसीएसका साथै विभिन्न नेटवर्क स्किमका कार्ड जारी गर्ने, कारोबार अधिग्रहण (Acquiring), प्रोसेसिङ तथा सेटलमेन्ट, ई–कमर्स पेमेन्ट गेटवे तथा कार्ड पर्सनलाइजेसनलगायतका सेवा सदस्य बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको छ।
हाल राष्ट्रिय वाणिज्य बैंकसहित एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकलगायतका संस्थाका कार्ड एनसीएचएलको एसीएस समाधानमार्फत ई–कमर्स कारोबारका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
एनसीएचएलले डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, सहज र विश्वसनीय बनाउन यस्ता प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।






Comment