काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक श्रेयको प्रतिस्पर्धाभन्दा विकास र नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताएका छन्। फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग नहुँदा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने तयारी गरेको जानकारी दिए।
उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरू परिमार्जन गरी कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको बताए।
उनका अनुसार, “लामो समयदेखि राजनीतिक आँट र विधेयकको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका सुधारहरू हामी अघि बढाइरहेका छौं। प्रधानमन्त्रीज्यू र पार्टी सभापतिज्यूसँग छलफलपछि घोषणापत्रमा उल्लेख भएका दर्जनौं कानुन, नियम र कार्यविधिहरू संशोधन गर्दै कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।”

वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने उद्देश्यले सरकारले महत्वाकांक्षी आर्थिक सुधार कार्यक्रमहरू अघि सारेको उल्लेख गरे। २०४८ सालपछि पहिलो पटक यति व्यापक दायरामा आर्थिक सुधारका योजना ल्याइएको उनको दाबी छ।
उनले भने, “निजी क्षेत्रको आत्मविश्वास बढाउने र देशमा सकारात्मक परिवर्तनको सन्देश दिने उद्देश्यले हामीले महत्वाकांक्षी कार्यक्रमहरू घोषणा गरेका छौं। सायद २०४८ सालपछि यति ठूलो दायरामा आर्थिक सुधार पहिलो पटक गरिएको हो।”
पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले लामो समयदेखि अलपत्र रहेका सडक तथा अन्य आयोजनाहरूलाई समयसीमाभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए।
उनका अनुसार हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका अपुरा परियोजनाहरू एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजना बनाइएको छ।
उनले भने, “सडक पूर्वाधारमा थाती रहेका र कार्यान्वयन हुन नसकेका आयोजनाहरू, जनताको लगानी फसेका परियोजनाहरू टुङ्ग्याउन हामी अघि बढेका छौं। हुलाकी, मध्यपहाडी तथा सहरी विकासका अपुरा आयोजना एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।”
अर्थमन्त्री वाग्लेले राजनीतिक श्रेयभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी अलपत्र आयोजनाहरू सम्पन्न गर्ने प्रक्रियामा सरकार जुटेको बताए।






Comment