काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट पूर्ण रूपमा कार्यान्वयन हुने दाबी गरेका छन्। “बजेट कार्यान्वयन हुँदैन” भन्ने पुरानो धारणा अब अन्त्य हुने भन्दै उनले सरकार प्रभावकारी रूपमा काम गरिरहेको बताए।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले असाधारण ढंगले काम गरिरहेको उल्लेख गर्दै बजेट कार्यान्वयनबारे गरिएको आलोचनालाई समयले जवाफ दिने टिप्पणी गरे।
अर्थमन्त्री वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको स्पष्ट पार्दै त्यसमा थप पाँच हजार रुपैयाँ महँगी भत्ता समेत समावेश रहेको जानकारी दिए। तलब वृद्धिबारे फैलिएका गलत बुझाइलाई खण्डन गर्दै उनले भने, “तलब वृद्धि २१ प्रतिशत नै हो, ढाँटिएको होइन।”
उनका अनुसार यस वर्षको बजेट आकार जीडीपीको अनुपातमा सन्तुलित रहेको छ र अनावश्यक रूपमा ठूलो देखाइएको धारणा गलत हो।
वाग्लेले सार्वजनिक ऋणको ठूलो हिस्सा पुराना दायित्व तिर्न प्रयोग हुने बताउँदै यस वर्ष करिब ३१८ अर्ब रुपैयाँ ऋण भुक्तानीमा खर्च हुने जानकारी दिए।
उनले बजेट सन्तुलित र कार्यान्वयनयोग्य भएको दाबी गर्दै आगामी महिनामा यसको प्रभाव स्पष्ट रूपमा देखिने विश्वास व्यक्त गरे।






Comment