३० महिनामै बिजुली उत्पादन गर्ने लक्ष्यसहित मर्स्याङ्दी बेसी आयोजना अघि बढ्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३० महिनामै बिजुली उत्पादन गर्ने लक्ष्यसहित मर्स्याङ्दी बेसी आयोजना अघि बढ्दै



काठमाडौँ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा सात बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्।

होटल एभरेष्टमा आयोजित कार्यक्रममा लगानीकर्ता बैंक तथा प्रवर्द्धक कम्पनीबीच ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। करिब ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत रकम ऋणमार्फत र बाँकी ३० प्रतिशत अर्थात् ३ अर्ब ८० करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने जनाइएको छ।
आयोजनाको वित्तीय व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिटिजन्स बैंकले जलविद्युत क्षेत्रमा आफ्नो सक्रिय उपस्थिति थप मजबुत बनाएको छ।

मर्स्याङ्दी नदीमा आधारित यस आयोजनाबाट उत्पादन हुने विद्युत उदीपुर सब-स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कार्यलाई तीव्रता दिँदै ३० महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी गरिएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेकाले अब आयोजनाको भौतिक निर्माणले तीव्र गति लिने अपेक्षा गरिएको छ। स्वदेशी पुँजी परिचालनमार्फत ठूला जलविद्युत आयोजना निर्माण गर्ने राष्ट्रिय अभियानमा समेत यस आयोजनाले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित : 13 May, 2026 9:34 pm