बीमालेख बढे पनि नाफा जोगिन सकेन हिमालयन लाइफ इन्स्योरेन्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमालेख बढे पनि नाफा जोगिन सकेन हिमालयन लाइफ इन्स्योरेन्स



काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा हिमालयन लाइफ इन्स्योरेन्स का वित्तीय सूचकहरूमा उल्लेख्य उतारचढाव देखिएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म कम्पनीको खुद नाफा करिब ४५ प्रतिशतले घटेको छ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ७२ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो। यो अघिल्लो वर्षको तुलनामा ४४.६६ प्रतिशतको गिरावट हो।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) मा पनि ठूलो संकुचन आएको छ। गत वर्ष ६.८९ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यो वर्ष ३.०८ रुपैयाँले घटेर ३.८१ रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ४५ पैसा कायम भएको छ।

यद्यपि, कम्पनीको व्यवसाय विस्तार र कोषको आकारमा भने सकारात्मक वृद्धि देखिएको छ। कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले बढेर ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि ६.१८ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

विवरणअनुसार कम्पनीको दाबी भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ। कुल दाबी भुक्तानी १७.३२ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। दाबी भुक्तानी बढ्नु र लगानी तथा कर्जाबाट हुने आम्दानीमा १२.६७ प्रतिशतको गिरावट आउनुले नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।

यद्यपि, कम्पनीको रिटेन्ड अर्निङमा भने ४१.७४ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ। गत वर्ष ७० करोड २९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यो वर्ष ९९ करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीले समीक्षा अवधिमा आफ्नो कुल बीमालेख संख्या बढाएर ४ लाख २५ हजार ७५७ पुर्‍याएको जनाएको छ।

प्रकाशित : 10 May, 2026 3:10 pm