शेखर गोल्छा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न नाइमाको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शेखर गोल्छा प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न नाइमाको आग्रह



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित हालका घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ।

नाइमाले यस्ता विषय अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष स्पष्ट गर्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ। संस्थाले प्रक्रियागत स्पष्टता, सन्तुलन र उचित विवेकको अभ्यासले प्रणालीप्रतिको विश्वास मजबुत बनाउन सहयोग गर्ने उल्लेख गरेको छ।

उद्योग तथा व्यवसाय क्षेत्रले अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै नाइमाले निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले सकारात्मक र सन्तुलित नीतिगत सन्देश दिनुपर्ने आवश्यकता औंल्याएको छ।

नाइमा विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको भन्दै कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ।

तर पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले प्रणालीप्रतिको विश्वास कमजोर पार्न सक्ने भएकाले सम्बन्धित निकायहरूले संवेदनशीलता अपनाउन नाइमाले आग्रह गरेको छ।

प्रकाशित : 24 April, 2026 6:02 pm