आम्दानी बढ्दा सानिमा बैंकको नाफामा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आम्दानी बढ्दा सानिमा बैंकको नाफामा उल्लेख्य सुधार



काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य प्रगति गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढेको छ।

गत वर्ष चैत मसान्तसम्म १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष सोही अवधिमा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ। आम्दानीमा सुधार आएकै कारण नाफा बढेको बैंकले जनाएको छ।

खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ४ अर्ब २८ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। जुन करिब २० प्रतिशतको वृद्धि हो।

यससँगै बैंकको सञ्चालन नाफा पनि बलियो बनेको छ। २ अर्ब २५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३२ करोड रुपैयाँ नाघेको सञ्चालन नाफा करिब ४७ प्रतिशतले बढेको देखिन्छ। कुल सञ्चालन आम्दानी समेत ६ अर्ब रुपैयाँबाट उकालो लाग्दै ७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चिति छ। वितरणयोग्य मुनाफा भने केही घटेर २ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ।

प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट बढेर २२ रुपैयाँभन्दा माथि पुगेको छ। तर, खराब कर्जा अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत पुगेको देखिन्छ। हाल बैंकले १ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन २ खर्ब ३३ अर्ब रुपैयाँ नाघेको छ।

प्रकाशित : 24 April, 2026 12:38 pm