काठमाडौँ। वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान तथा सेवन गरी मनाइँदैछ।
शास्त्रीय विधानअनुसार आज बिहान सबेरै उठी घर लिपपोत गरी स्नान गरेर पूजा सामग्री तयार पारिन्छ र सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गर्ने परम्परा रहेकाे छ ।
यस दिन पुरोहितलाई पूजापछि शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत तयार गरिन्छ। जौको सातु र सर्वत दान गर्ने तथा सेवन गर्ने वैदिककालदेखिको चलन रहँदै आएको छ।
धार्मिक मान्यताअनुसार आज गरिएको स्नान, दान, जप र ध्यानजस्ता पुण्य कर्म कहिल्यै नास नहुने विश्वास छ। वैशाखको गर्मीमा सातु र सर्वतले शरीरलाई शीतलता दिनुका साथै ऊर्जा प्रदान गर्ने मानिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत सहयोग गर्छ। “यस दिन थोरै दान गरे पनि ठूलो फल प्राप्त हुने विश्वासका कारण यसलाई अक्षय तृतीया भनिएको हो,” उनले बताए।
यस अवसरमा ‘धर्मघट’ दान गर्ने चलन पनि छ। वृद्धवृद्धालाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा सामर्थ्यअनुसार गाई, जमिन, अन्न र सुन दान गर्ने परम्परा रहेको छ। यस्ता दान असहाय तथा विपन्न वर्गलाई पनि दिने गरिन्छ।
धार्मिक विश्वासअनुसार आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको थियो। त्यसैले विवाहका लागि आज साइत हेर्नु नपर्ने मान्यता प्रचलित छ। साथै त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको बताइन्छ।
यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरूले पूजा, आराधना र दर्शन गरी पर्व मनाइरहेका छन्।






Comment