नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपालको रियल–स्टेट बजारमा मधेस प्रदेशको बर्चस्वः नेपाल राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई स्पष्ट पारेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा सङ्कलन गरिएको यो तथ्याङ्क अबदेखि त्रैमासिक रूपमा प्रकाशन गरिने बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार नेपालको घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको छ, जसमा आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार सुस्त हुने र तेस्रो तथा चौथो त्रयमासमा निकै बढ्ने ट्रेन्ड देखिएको छ । प्रादेशिक रूपमा हेर्दा, कारोबारको सङ्ख्या र क्षेत्रफल दुवैका आधारमा मधेस प्रदेश मुलुकभरमै सबैभन्दा अगाडि देखिएको छ भने लुम्बिनी र कोशी प्रदेशले क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने घरजग्गाको गतिविधि तुलनात्मक रूपमा निकै न्यून रहेको छ ।

जग्गाको क्षेत्रफल र मूल्यका आधारमा पनि रोचक तथ्याङ्क बाहिर आएका छन् । मधेस प्रदेशमा २० आनाभन्दा ठुला प्लटहरूको कारोबार बढी हुने गरेको पाइएको छ भने बागमती लगायत अन्य प्रदेशमा २.५ देखि १० आनासम्मका साना प्लटहरूमा लगानीकर्ताको आकर्षण बढी छ । यद्यपि, कारोबार भएको जग्गाको घोषित मूल्य वा थैली रकमका आधारमा भने बागमती प्रदेश नै अग्रस्थानमा रहेको छ । महानगर र उप–महानगरपालिकाहरूमा ५ देखि १० आनाका जग्गाहरू सबैभन्दा बढी खरिदबिक्री हुने गरेका छन् ।

वित्तीय र राजस्वको दृष्टिकोणबाट हेर्दा, घरजग्गा क्षेत्रबाट प्राप्त हुने सरकारी राजस्वमा निकै उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा उच्च विन्दु (रु. २३.७ अर्ब) मा पुगेको राजस्व बीचमा घटे पनि पछिल्लो समय सुधारिँदै आ.व. २०८१/८२ मा रु. १५ अर्बको हाराहारीमा पुगेको छ । साथै, विगत पाँच वर्षमा घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि हुनुले यस क्षेत्रमा बैंकहरूको लगानीको हिस्सा बलियो रहेको पुष्टि गर्दछ । राष्ट्र बैंकले यसै तथ्याङ्कको आधारमा अब छिट्टै ’घरजग्गा मूल्य सूचकाङ्क’ प्रकाशन गर्ने तयारी समेत गरिरहेको छ। जसले बजारको मूल्य वृद्धिलाई वैज्ञानिक ढंगले मापन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित : 13 April, 2026 2:10 pm