काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ ।
चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो ।
समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत, र तराई मार्ग मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि भएको छ ।
यातायात व्यवस्था विभागको सूचना अनुसार काठमाडौं–विराटनगर सुपर डिलक्स बसको भाडा रुपैयाँ २४०७, डिलक्स रुपैयाँ. २००६, सामान्य रुपैयाँ १६७१ कायम गरिएको छ । यस्तै, काठमाडौं– धनकुटा सुपर डिलक्स रुपैयाँ २७९२, डिलक्स रुपैयाँ २३२७, सामान्य रुपैयाँ १९३९, सामान्य (समान्य) रुपैयाँ १६६१ कायम गरिएको छ । डिलक्स सेवामा २०% थप भाडा र सुपर डिलक्स सेवामा डिलक्स भाडामा २०% थप भाडा लिन सकिनेछ, जुन ब्लु बुकबाट प्रमाणित हुनुपर्ने सूचना उल्लेख छ ।
यातायात विभागले यात्रुहरूलाई टिकट अनिवार्य जारी गर्न, तोकिएको भन्दा बढी भाडा नलिन, सहुलियत प्राप्त वर्गलाई सुविधा दिन र बस÷मिनीबसमा रात्री चालकको संख्या सुनिश्चित गर्न अनुरोध गरेको छ । उल्लंघन भएमा कानूनी कारबाही गरिने विभागले जनाएको छ ।
भाडा सूची तथा थप जानकारी विभागको वेबसाइटमा उपलब्ध हुनेछ । साथै, भाडा बढाबढ वा अन्य गुनासोका लागि नागरिकले हेलो सरकार ११११, ट्राफिक प्रहरी १०१/१०३ वा नजिकको यातायात कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।






Comment