ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा मिति २०८२ फागुन २८ गते, बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिकाअध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ।

उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरु,पूर्व सञ्चालकहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। यसैगरी सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ।साथै, सभाले बैंकको आ.व. २०८२/८३ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ।

साधारण सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गर्नुभएको थियो। यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ-आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका छन् ।

शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका छन् ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्चप्राथमिकतामा राखेको छ।

स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्‍याएको छ।

ज्योति विकास बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित : 13 March, 2026 1:13 pm